Kakhara सबैको खबर सम्पूर्ण खबर
युवा नेता रावल राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि भन्दै काठमाडौँसम्मको पैदल यात्रामा 

युवा नेता केशव रावल राजधानी काठमाडौँसम्मको पैदल यात्रामा निस्किनुभएको छ । उहाँ गृह जिल्ला रुकुम पूर्वबाट काठमाडौँको यात्रामा निस्किनुभएको हाे । सहिद दौलतराम घर्ती विजय घलेको स्मृति दिवसको अवसर पारी पुस १ गते सिस्ने गाउँपालिका ८ भुरुंगाबाट उहाँले नेपाली राष्ट्रिय झन्डा र नेपाल कम्युनिस्ट पार्टी नेकपाको चुनाव चिन्ह तारा अङ्कित झन्डा सहित यात्रा सुरु गर्नुभएको हो । अहिले आफू बागलुङको भूमिमा रहेको उहाँले बताउनुभयो ।

आफ्नो यात्रा राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि दबाब दिन साङ्केतिक रहेको उहाँले बताउनुभयो । राजनीतिक परिवर्तनहरू हुँदा पनि जनताको जीवनस्तर परिवर्तन हुन नसकेको अवस्थामा समान विकास, राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि दबाब सिर्जना गर्नु आफ्नो यात्राको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

‘हिँडेर काठमाडौँ पुग्ने कुरा ठुलो होइन, अहिले पनि गाउँ गाउँमा सडक नपुगेका कारण मान्छेहरू कयौँ दिन पैदल हिँड्नुहुन्छ, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका अत्यावश्यक विकासको अवस्था पनि दुर्गममा दयनीय छ, शान्ति आयो त भनिएको छ तर सबै नागरिकहरू सुखले ढुक्क सँग बस्ने अवस्था छैन, असमान विकास छ, यसैका विरुद्ध मेरो दबाब हो,’ उहाँले भन्नुभयो ।

‘युवाहरू देश छाड्नुपर्ने बाध्यतामा छन्, गाउँका मान्छेहरू कसरी सहर छिर्ने भन्ने योजनामा छन्, राज्यले गरिबलाई कहिले हेर्न सकेन, यसैका विरुद्ध देशव्यापी दबाब सिर्जना होस भन्ने मेरो लक्ष छ,‘ उहाँले थप्नुभयो । सबैतिरको अवस्था बुझ्दै गइरहेको, बाटोमा विभिन्न पक्षसँग छलफल तथा सुझाव सङ्कलन समेत गरिरहेको र राजधानी पुगेर सरोकारवाला पक्षसँग छलफल गरेर आफ्नो यात्राका क्रममा आएका सुझावलाई सबैका सामु राख्ने उहाँको भनाई छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडा पुगेर आफ्नो यात्रा समाप्त हुने उहाँले बताउनुभयो । आफ्नो यात्राको अर्को लक्ष देशका तमाम समस्याको समाधान नेकपाले गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्नु पनि रहेको उहाँले बताउनुभयो । करिब २ सातामा काठमाडौँ पुग्ने योजना भए पनि बाटोमा हुने छलफल इत्यादिले यात्रा कति दिनमा सकिन्छ भन्ने यकिन नभएको उहाँले जानकारी गराउनुभयो ।

अखिल क्रान्तिकारीको राजनीतिमा रहनुभएका उहाँ २०७९ सालको प्रदेश सभा निर्वाचनमा रुकुम पूर्वबाट चुनाव समेत लड्नुभएको थियो । हाल भने उहाँले उमेर हदका कारण विद्यार्थी राजनीतिबाट बिदा लिइसक्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update