Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ९ सय ४९ जना निर्वाचन प्रहरी भर्ना गरिने 
फाइल फाेटाेः रुकुम पश्चिममा २०७९ काे निर्वाचनका लागि छनाैट भएका म्यादी प्रहरीलाई तालिम दिँदै गर्दाकाे क्षण ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि आजबाट देशभरमा निर्वाचन प्रहरीको आवेदन खुला भएको छ । प्रत्येक जिल्लामा भर्ना गर्ने गरी आवेदन खुला गरिएको हो । आगामी निर्वाचनका लागि रुकुम पश्चिममा ९ सय ४९ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । 

नेपाल प्रहरीले परिचालन गर्ने गरी ८ सय ५३ र सशस्त्र प्रहरीले परिचालन गर्ने गरी ९६ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । आजबाट आवेदन खुला भएकामा माघ ४ गतेसम्म आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा २ ठाउँमा आवेदन दिन सकिने छ । निर्वाचन प्रहरीका लागि इच्छुक युवाहरूले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म मठमा आवेदन दिन सक्ने उहाँले बताउनुभयो । दुई मध्य जुन ठाउँमा आवेदन दिए पनि हुने र छनोट पश्चात् भने फरक फरक तालिम हुने बताइएको छ । 

सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले नेपाल प्रहरीमा धेरै कोटा भएकोले आवेदनका लागि धेरै जसो जिल्ला प्रहरी कार्यालयमा गएको र त्यहाँ आवेदन भर्न ठुलो लाइन लागे पनि सशस्त्र प्रहरीमा भने कोही नआएको बताउनुभयो ।

बढी कोटा भएकोले जिल्ला प्रहरी कार्यालयमा भरेपछि मात्र छनोट भइन्छ भन्ने भ्रम परेको भन्दै जुन ठाउँबाट आवेदन दिए पनि हुने उहाँले बताउनुभयो । तोकिएको समयमा आवेदन भरेकाहरू मध्यबाट जिल्ला सुरक्षा समिति वा समितिले बनाएको छनोट उप समितिले संयुक्त छनोट गर्ने र ८ सय ५३ जनालाई जिल्ला प्रहरी कार्यालय तथा ९६ जनालाई सशस्त्र प्रहरीले तालिम दिएर परिचालन गर्ने उहाँको भनाई छ । 

सरकारले निर्वाचनको सुरक्षा परियोजनाका लागि ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो । यस अघि म्यादी प्रहरी नामकरण गरिए पनि यस पटक देखि भने सरकारले नाम परिवर्तन गरी निर्वाचन प्रहरी बनाएको छ । सरकारले यसअघि नेपाल प्रहरीलाई मात्र म्यादी प्रहरी परिचालनको अधिकार दिएको थियो भने यो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी परिचालन गर्ने अधिकार पाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update