Kakhara सबैको खबर सम्पूर्ण खबर
भाेली प्रचण्ड–माधव आउने रुकुम पश्चिमको एकता सन्देश सभाको तयारी पूरा 

नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमको भोली हुने एकता सन्देश सभाको तयारी पूरा भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले भोली जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा एकता सन्देश सभा गर्दै छ । 

साबिक नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले सभाको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । मञ्च व्यवस्थापन, प्रचारप्रसार लगायतका सबै तयारी पूरा भएको उहाँले बताउनुभयो । उहाँका अनुसार भोली दिउँसो १ बजेदेखि सभा सुरु हुने छ । 

१२ बजेदेखि विभिन्न ठाउँबाट आएका र्‍याली सभा स्थलमा प्रवेश गर्न सुरु गर्ने उहाँले बताउनुभयो । सभामा १० हजार बढी मानिस आउने उहाँले बताउनुभयो । यो सभालाई पार्टी केन्द्रले समेत विशेष महत्त्व दिएको छ । 

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधवकुमार नेपाल सहित पूर्ण घर्ती, महेश्वर जङ्ग गहतराज सहितका नेताहरूले पनि सम्बोधन गर्ने जिल्ला संयोजक रोकाले जानकारी दिनुभयो ।सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधवकुमार नेपाल लगायतका नेता आउँदै छन् । 

जनार्दन शर्मा प्रभाकरले फरक पार्टी निर्माण गरेपछि नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दल मिलेर बनेको नेकपाले रुकुम पश्चिमको विरासत जोगाउने गरी केन्द्रबाटै विशेष महत्त्व दिएको देखिन्छ । 

नेपाली कम्युनिस्ट पार्टी बनेपछि जिल्लामा पहिलो पटक यति ठुलो कार्यक्रम हुन लागेको हो । जनार्दनको गृह जिल्लामा हुन लागेको नेकपाको एकता सन्देश सभालाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

माओवादीको बलियो पकड रहेको रुकुम पश्चिममा यसअघि माओवादीले भव्य सभा सम्मेलन गर्ने गरेको थियो । सोही विरासतलाई कायम राख्ने गरी यो पटकको सभा हुने नेकपा रुकुम पश्चिमका नेताहरूको भनाई छ । 

जनार्दन शर्माले अर्को पार्टी निर्माण गरे पनि रुकुम पश्चिममा कुनै असर नपरेको बताइरहेका नेताहरू यो सभाबाट त्यसलाई केही हदसम्म पुष्टि गर्ने योजनामा देखिएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update