नेपाली कम्युनिस्ट पार्टी नेकपाको जम्बो केन्द्रीय समितिमा रुकुम पश्चिममा पनि ठुलो संख्यामा नेताहरू परेका छन् । मङ्गलवार विस्तार भएको नेकपाको २४ सय ९९ सदस्यीय केन्द्रीय समितिमा रुकुम पश्चिमबाट २१ जना समेटिएका छन् । साबिकको नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका १९ जना नेता केन्द्रीय समितिमा परेका हुन् । जसमा साबिक माओवादीबाट १४ जना र ७ जना नेकपा एसबाट परेका छन् ।
साबिक माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनका अनुसार नेकपाको केन्द्रीय समितिमा रुकुम पश्चिमबाट वसन्तकुमार शर्मा, गोपाल शर्मा, महेन्द्र केसी, विमला केसी, गोविन्द रोका सचिन, विशाल शर्मा, बुद्धिप्रसाद शर्मा, प्रेमकुमारी सुनार, झक्कुप्रसाद घर्ती, पुष्प वादी, रातो कामी, लक्ष्मी पुन र मीनबहादुर ओली होसियार र रिखीप्रसाद जैसी पर्नुभएको छ । उहाँहरू साबिकको माओवादीबाट केन्द्रीय समितिमा पर्नुभएको हो भने साबिक नेकपा माओवादी केन्द्रमा पनि केन्द्रीय सदस्यको हैसियतमा हुनुहुन्थ्यो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट ठगेन्द्र प्रकाश पुरी, देवी ओली, विमलकुमार पुन, कल्याणी खड्का, माधव प्रसाद गौतम, सुरज कुमार परियार र कपिल आचार्य पर्नुभएको छ । यसअघि निर्वाचन आयोगमा बुझाइएको केन्द्रीय समितिको सूचिमा भने रुकुम पश्चिमबाट कोही पनि परेका थिएनन् । साबिक माओवादी केन्द्रमा रुकुम पश्चिमबाट मात्र २३ केन्द्रीय सदस्य रहेका थिए । त्यसमध्ये केही जनार्दन शर्माले निर्माण गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका छन् ।
तर यसअघि केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका र हाल नेकपामा खुलेका देवीलाल गौतम, नरबहादुर पुन, कलबहादुर नाथ, धनवीर ओली र धर्मबहादुर केसी लगायत भने केन्द्रीय सदस्यमा अटाउनुभएन । केन्द्रमा एकता भए पनि जिल्लामा एउटै कमिटी निर्माण हुन सकेको छैन ।
नेकपाले पुस २६ गते जिल्ला सदरमुकाम मुसिकोटमा भव्य एकता सन्देश सभा भने गरिसकेको छ । अब केही समयमा जिल्ला कमिटी पनि एउटै बन्ने नेकपा रुकुम पश्चिमले जनाएको छ । बैठक भने संयुक्त रूपमा बस्न सुरु भइसकेको छ ।







-1759842583.jpg)
