रुकुम पश्चिममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन कार्य तालिका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । अब जिल्लामा निर्वाचन सम्बन्धी सम्पूर्ण कामहरू यसै कार्यालय मार्फत हुने छन् ।
जिल्लामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दिपेन्द्र थापा मगर रहनुभएको छ । यस कार्यालयले निर्वाचनको सम्पूर्ण तयारी देखि मतदान र मतगणना सम्पन्न गरी निर्वाचितलाई प्रमाण पत्र प्रदानसम्मको काम गर्ने छ ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत थापा सहित जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसी सहित जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा १ लाख ६ हजार ६० जना मतदाता रहेका छन् । जसमा पुरुष ५४ हजार २ सय ६३, महिला ५२ हजार ३ सय ९६ र अन्य १ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
यो संख्या २०७९ मा भएको चुनावको तुलनामा २ हजार ३ सय ८० ले बढी हो । उक्त निर्वाचनमा जिल्लाभरमा १ लाख ४ हजार २ सय ८० मतदाता थिए । ७३ वडा रहेको रुकुम पश्चिमा ७६ वटा मतदान स्थल रहेका छन् ।





-1759842583.jpg)