Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा भोली देखि निर्वाचन प्रहरी छनौट सुरु हुने 

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ रुकुम पश्चिममा भोली देखि निर्वाचन प्रहरीका लागि छनौट भोली माघ ५ गते देखि सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै भोलीबाट छनोट सुरु हुने जानकारी दिएको छ । कार्यालयका अनुसार भोली र पर्सी दरखास्त दिएका उम्मेदवारहरूको प्रारम्भिक शारीरिक परीक्षण तथा शारीरिक सहिष्णुता परीक्षा हुने छ ।

भोली पहिलो सिफ्टमा बिहान ७ बजे देखि ११ बजेसम्म दर्ता नम्बर १ देखि ६ सय ९९ र दोस्रो सिफ्ट दिउँसो १ बजे देखि बेलुकी ५ बजेसम्म दर्ता नम्बर ७ सय १ देखि १३ सय ९९ सम्मका उम्मेदवारको परीक्षा सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो ।

त्यस्तै पर्सी ६ गते पहिलो सिफ्टमा दर्ता नम्बर १४ सय १ देखि २ हजार ९९ र दोस्रो सिफ्टमा २१ सय १ देखि २६ सय ३ तथा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्ममा आवेदन दिएका सम्पूर्णका लागि परीक्षा हुने उहाँले बताउनुभयो । उक्त परीक्षामा वेयरिङ चेकजाँच, सामान्य स्वास्थ्य परीक्षण, सिट अप, पुस अप र दौड सञ्चालन हुने छन् ।

उक्त परीक्षामा सहभागी हुँदा प्रवेश पत्र साथमा हुनुपर्ने छ भने गेम ड्रेस/ट्रयाक सुट, स्पोर्ट सुज लगाएर आउनुपर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । जिल्लामा ९ सय ४९ जना निर्वाचन प्रहरीका लागि भर्ना खुलेको थियो । पुस २५ गते देखि माघ १ गतेसम्मको निर्धारित समयमा १४ सय १४ जनाले आवेदन दिएको बताइएको छ ।

जसमा १३ सय १ जनाले जिल्ला प्रहरी कार्यालय र १ सय १३ जनाले सशस्त्र प्रहरीमा आवेदन दिएका हुन् । सबै १४ सय १४ जनाको संयुक्त छनोट हुने छ भने कोटा अनुसार छनोट भएकाहरू मध्ये प्रहरीले ८ सय ५३ जना र सशस्त्रले ९६ जना निर्वाचन प्रहरी परिचालन गर्ने छ । 

notice-nirwachan-police-1768720660.jpg
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update