रुकुम पश्चिमका दलहरूले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा तोकिएका आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको आसन्न निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी दलका प्रतिनिधिहरूले निर्वाचन आयोगले तोकेका निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाली काँग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले निर्वाचनका लागि तोकिएका आचारसंहितालाई पूर्ण पालना गरेर निर्वाचनलाई मर्यादित बनाउन आफ्नो दलका तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिताको पालनाका लागि अन्य दल तथा सरोकारवाला निकायहरूलाई समेत आग्रह गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वसन्तकुमार शर्माले निर्वाचनलाई भड्किलो, असुरक्षित र अमर्यादित हुन नदिनका लागि दलका तर्फबाट प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले निर्वाचनलाई भयरहित र मर्यादित बनाउन दल सँगै सरोकारवाला सबैको उत्तिकै अहम् भूमिका रहेको बताउनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले यसअघिका निर्वाचनमा दलका तर्फबाटै निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भएको भन्दै यो निर्वाचनमा त्यसो हुन नहुने धारणा राख्नुभयो । स्वच्छ निर्वाचनका लागि नेकपा एमाले प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति मानबहादुर शाही, राष्ट्रिय जनमोर्चाका गिरीप्रसाद बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीका दलबहादुर खड्का, नेकपा माओवादीका कपिल सिंह, नेकपा संयुक्तका शेरबहादुर केसीले पनि मर्यादित निर्वाचनमा जोड दिँदै आफ्नो दलको तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले जिससको तर्फबाट निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट र त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले समेत निर्वाचनमा कर्मचारीको खटनपटनमा सघाउनुका साथै पालिकाको तर्फबाट आचारसंहिता पालना र निर्वाचनलाई सफल पार्न भूमिका खेल्ने बताउनुभयो ।
जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न राजनीतिक दल, जिल्ला समन्वय समिति, पालिका सरकार तथा सम्पूर्ण सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । सम्पूर्ण पक्षले निर्वाचन आचारसंहिता पालना गर्ने बित्तिकै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने उहाँको भनाई छ । सबैको सहयोगमा जिल्लामा बिना कुनै समस्या निर्वाचन सम्पन्न हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले निर्वाचन कार्यालयले जिल्लामा हालसम्म भएकाे निर्वाचन तयारीका विषयमा जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले गर्नुभएको थियो ।





-1759842583.jpg)