प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले नेकपा एमाले सँगको तालमेलले आफ्नो जितलाई झन् सुनिश्चित गरेको बताउनुभएको छ । मुसिकोटमा आयोजित एमाले र प्रलोपाको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले अब आफ्नो जित झनै सुनिश्चित भएको दाबी गर्नुभएको हो ।
यसअघिका निर्वाचनमा एमालेसँग पटक पटक सहकार्य भएको भन्दै यस पटक पनि पहिलाका निर्वाचन जस्तै एमालेले उत्साहपूर्वक आफूलाई मतदान गर्ने विश्वास पनि उहाँल गर्नुभयो । एमालेले आफूलाई धेरै पटक सघाएको भन्दै आगामी दिनमा एमालेलाई सघाउने मौका प्राप्त हुने विश्वास व्यक्त गर्दै आफू त्यसमा प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।
आफू २०६४ र २०७० को निर्वाचनमा बाहेक अन्य चुनावमा जिल्लामा साझा उम्मेदवारका रूपमा निर्वाचनमा होमिएको र विजय प्राप्त गरेको स्मरण गर्दै उहाँले यस पटकको निर्वाचनमा पनि साझा उम्मेदवारको रूपमा रहनु आफ्नो लागि गौरवको विषय भएको बताउनुभयो । हिजो जस्तै अबका दिनमा पनि साझा रूपमा सबै दललाई साथमा लिएर रुकुमको विकासमा जोडिने उहाँको प्रतिबद्धता छ ।
तपाईँलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले जनार्दन मेरो निकटतम प्रतिस्पर्धी होइन भन्नुभयो नि भन्ने पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै उहाँले गोपाल शर्मा पनि आफ्नो निकटतम प्रतिस्पर्धी नभएको बताउनुभयो । पैसाको मोलमोलाइमा एमालेसँग चुनावी तालमेल भयो भन्ने आरोप पनि छ भन्ने पत्रकारको अर्को प्रश्नमा उहाँले यसलाई कुनै राजनीतिक आलोचना नपाएपछि विपक्षीले गर्ने तल्लो स्तरको आलोचना र हारको मानसिकताको संज्ञा दिनुभयो ।
यस विषयमा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले पनि गम्भीर आपत्ति जनाउनुभयो । ‘म यस्तै प्रवृत्तिको विरोध गर्दै आएको मान्छे हुँ, नन्दराम देवकोटाले कसैको एक रुपैयाँ खाएको पनि छैन, कसैलाई दिएको पनि छैन, उहाँले भन्नुभयो– म यस्ता हलुका र भद्दा टिप्पणी गर्नेहरुलाई चुनौती दिन चाहन्छु, प्रमाण सहित आउनुहोस् ।’
दुई पार्टीको संयुक्त बैठकपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो ।





-1759842583.jpg)