Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली कांग्रेस रुकुम पश्चिमका उम्मेदवार केसीको निर्वाचन खर्च २२ लाख २९ हजार  

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार राजु केसीले निर्वाचन खर्च विवरण बुझाउनुभएको छ । उम्मेदवार केसीले जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिममा निर्वाचन खर्च विवरण बुझाउनुभएको हो । उक्त विवरण अनुसार उहाँले निर्वाचनमा २२ लाख १९ हजार ३० रुपैयाँ खर्च गर्नु भएको छ । 

सबैभन्दा बढी खाना, खाजा तथा आवास, इन्धन पेट्रोल, डिजेल र प्रचारप्रसार सामग्रीमा खर्च भएको उल्लेख छ । खाना, खाजा तथा आवासमा ४ लाख ८८ हजार ७ सय ३५ रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ । इन्धन पेट्रोल र डिजेलमा ४ लाख ७० हजार ८ सय ५० रुपैयाँ तथा प्रचार प्रसार सामग्री झन्डा, टोपी, ब्याचमा ४ लाख ३१ हजार खर्च भएको छ । 

त्यस्तै यातायात तर्फ २ वटा गाडी भाडामा ३ लाख ६० हजार, प्रचारप्रसार सामग्री प्रतिज्ञा पत्र र ब्यानर लगायतमा २ लाख ४६ हजार १ सय ३६ र नमुना मतपत्र छपाई तथा स्टेसनरी सामग्रीमा १ लाख १५ हजार ८ सय ६७ रुपैयाँ खर्च भएको उम्मेदवार केसीले जिल्ला निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ । 

बाँकी खर्च मध्ये आमसञ्चारका माध्यममा ३० हजार, स्टेसनरीमा ३ हजार ४ सय र मतदाता नामावली खरिदमा ३ हजार खर्च भएको बताइएको छ । रुकुम पश्चिमबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा निर्वाचित भएकामा  नेपाली काँग्रेसका उम्मेदवार केसी दोस्रो हुनुभएको थियो । 

निर्वाचन आयोगले जिल्ला अनुसार निर्वाचन खर्चको सीमा तोकेको थियो । जसअनुसार रुकुम पश्चिमका उम्मेदवारहरूले अधिकतम ३१ लाखसम्म खर्च गर्न पाउने व्यवस्था थियो । निर्वाचन सम्पन्न भइसकेको अवस्थामा जिल्लामा उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालय मार्फत निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण बुझाइरहेका छन् । 

मतगणना सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update