रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गोपाल शर्माले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा भएको खर्चको विवरण उहाँले आज जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिम मार्फत निर्वाचन आयोगमा बुझाउनुभएको छ ।
साथै उहाँले उक्त खर्च विवरण सामाजिक सञ्जाल मार्फत सार्वजनिक पनि गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट उम्मेदवारी दिएर निर्वाचन जित्नुभएका शर्माको निर्वाचन खर्च १५ लाख रहेको छ । उहाँले निर्वाचनमा कुल १५ लाख ५ हजार २ सय ५० रुपैयाँ खर्च गरेको निर्वाचन खर्च विवरणमा उल्लेख गर्नुभएको छ ।
सबैभन्दा बढी खर्च प्रचार सामग्री झन्डा, पोस्टर, मतदाता नामावली, नमुना मतपत्र, सङ्कल्प पत्र, चिठी लगायतमा ७ लाख ४० हजार खर्च भएको उल्लेख छ ।
त्यस्तै खाना तथा आवासमा ३ लाख १३ हजार २ सय ५०, सवारी साधनमा २ लाख ४० हजार, सवारी इन्धनमा १ लाख ५० हजार, फोटोग्राफी, भिडियोग्राफी तथा अडियो, भिडियो जिंगल उत्पादन र प्रसारणमा ६२ हजार खर्च भएको खर्च विवरणमा खुलाइएको छ । १२ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको रुकुम पश्चिममा नेकपाका शर्मा २१ हजार ६ सय ९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो ।
निर्वाचन आयोगले जिल्ला अनुसार निर्वाचन खर्चको सीमा तोकेको थियो । जसअनुसार रुकुम पश्चिमका उम्मेदवारहरूले अधिकतम ३१ लाखसम्म खर्च गर्न पाउने व्यवस्था थियो । निर्वाचन सम्पन्न भइसकेको अवस्थामा जिल्लामा उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालय मार्फत निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण बुझाइरहेका छन् ।
मतगणना सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।





-1759842583.jpg)