Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा रुकुम पश्चिमको निर्वाचन समीक्षा बैठक सम्पन्न

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले निर्वाचन समीक्षा सकाएकाे छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजय हासिल गरेको नेकपाले जिल्लाका सवै स्थानीय तहरुमा निर्वाचन समीक्षा सम्पन्न गरेको हो । निर्वाचन समीक्षा कार्यक्रम जिल्लाका ६ वटै स्थानीय तहरुमा सम्पन्न गरेर आज सहिद स्मृति प्रतिष्ठानको सभाहल सेरिगाउँमा जिल्ला स्तरीय निर्वाचन समीक्षा गरेको नेकपा रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । 

उहाँका अनुसार पार्टीको जिल्ला स्तरीय निर्वाचन समीक्षा बैठकले ६ वटै स्थानीय तहमा सम्पन्न गरेको निर्वाचन समीक्षा र जिल्ला स्तरीय निर्वाचन समीक्षा बैठकको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा पेश गर्ने निर्णय गरिएको छ । त्यस्तै नेकपाबाट निवार्चित प्रतिनिधि सभा सदस्य गोपाल शर्मालाई पार्टीका नेता कार्यकर्ताहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । त्यस्तैगरी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन खेलेको भुमिको प्रशंसा गर्दै निर्वाचन परिचालन समितिका संयोजक पार्टीका केन्द्रीय सदस्य वसन्तकुमार शर्मालाई प्रंशसा पत्र समेत प्रदान गरिएको छ । 

निर्वाचन परिणाम घोषणाको भोलिपल्ट फागुन २४ गते जिल्ला सदरमुकाम खलंगामा भव्य विजय र्याली गरेको नेकपाले साानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा मतदातासँग भेटघाट तथा निर्वाचन समीक्षा गरेको थियो । नेकपाले चौरजहारी र आठविसकोट नगरपालिकामा वियज र्याली समेत निकालेको थियो । १२ दल चुनावी प्रतिस्पर्धामा रहेकाे रुकुम पश्चिममा नेकपाका उम्मेदवार शर्मा २१ हजार ६ सय ९ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update