आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार गोपाल शर्मा अनलले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । रेडियो सानीभेरीको संवाद मूलक कार्यक्रम आजका कुरामा संवादका क्रममा फागुन २१ को निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शर्माले दाबी गर्नुभएको हो ।
साङ्गठनिक बल र रुकुम पश्चिम कम्युनिस्टको आधार इलाका र गढ भएका कारण आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले २०७९ को निर्वाचनमा आएको हाराहारीमै मत आउने दाबी गर्नुभयो । ‘काँग्रेस सहितको गरेर ३९ हजार बढी मत थियो, तर हाम्रो पार्टीमा ३४ हजार बढी मत समानुपातिक तर्फ आएको थियो, यही हाराहारीमा यो पटक पनि मत प्राप्त हुन्छ,’ उहाँले भन्नुभयो ।
साथै उहाँले आफूलाई काँग्रेस र एमालेले पनि भोट हाल्ने बताउनुभएको छ । एमाले र प्रलोपाका बिचमा तालमेल भए पनि एमालेको भोट आफूलाई पनि आउने दाबी गर्दै उहाँले काँग्रेसले समेत आफूलाई भोट हाल्ने ठोकुवा गर्नुभयो । त्यस्तै उहाँले जनार्दन शर्मा आफ्नो निकटतम प्रतिद्वन्द्वी नरहेको बताउनुभयो ।
‘जनार्दन मेरो निकटतम प्रतिस्पर्धी होइन, उहाँले त्यो मत नै पाउनुहुन्न, उहाँले भन्नुभयो–सबैले देख्नुभएकै छ उहाँको पछि कति नेता कार्यकर्ता लागेका छन्, हाम्रो जनमत कतै गएको छैन, यो जिल्लाको बलियो शक्ति हामी नै हो ।’
२०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्माले निर्वाचन जित्नुभएको थियो । उक्त निर्वाचनमा एउटै पार्टीमा रहनुभएका गोपाल शर्मा र जनार्दन शर्मा अहिले आमनेसामने हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकतामा बनेको नेकपामा नगई जनार्दनले प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेपछि हिजो लामो समय एउटै पार्टीमा रहनुभएका र जनार्दनको चुनावी कमान्डरको भूमिका निभाउनुभएका गोपाल शर्माले जनार्दनसँग प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।।





-1759842583.jpg)