Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा रुकुम पश्चिमले जारी गर्‍यो सङ्कल्प पत्र, के छन् एजेण्डा ?

नेपाली कम्युनिस्ट पार्टी नेकपा रुकुम पश्चिमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सङ्कल्प पत्र जारी गरेको छ । आज मुसिकोटको शेरिगाउँमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपाले पार्टीको तर्फबाट चुनाव लक्षित सङ्कल्प पत्र सार्वजनिक गरेको हो । जिल्लामा चुनाव लक्षित सङ्कल्प पत्र जारी गर्ने नेकपा पहिलो दल समेत हो । 

पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम निर्वाचन परिचालन समितिका संयोजक वसन्तकुमार शर्माले सङ्कल्प पत्र सार्वजनिक गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार: आत्मनिर्भर रुकुम (पश्चिम भाग)को आधार भन्ने मुख्य नाराका साथ नेकपाले सङ्कल्प पत्र तयार पारेको छ । विभिन्न ५ वटा विषयगत क्षेत्रमा नेकपाले रुकुम पश्चिमको मार्ग दर्शन तय गरेको छ । 

पहिलोमा पूर्वाधारलाई राखिएको छ । यस अन्तर्गत सडक तथा पुलमा बस्ती देखि वडा केन्द्र र वडा केन्द्र देखि पालिका केन्द्रसम्म सडक विस्तार तथा बाह्रै महिना चल्ने गरी स्तरोन्नति गर्ने, राप्ती लोकमार्गको झुल्नेटा–छरेबगरको निर्माण कार्य सम्पन्न गर्ने, प्रदेश निर्वाचन क्षेत्रीय सडक लगायत रणनीतिक महत्वका सडक निर्माण कार्य सम्पन्न गरी स्तरोन्नति गर्ने र अत्यावश्यक स्थानहरूमा सडक पुल तथा झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख छ । 

पूर्वाधार विकास अन्तर्गत नै एक घर, एक धारा अभियानलाई पूर्णता दिई सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने, सिँचाई तर्फ खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने, लिफ्टिङ प्रविधिको प्रयोगबाट सिँचाई सुविधा विस्तार गर्ने, विद्युतिकरण तर्फ सबै वस्तिमा विद्युत् सेवा विस्तार गर्ने र भेडाखेत लगायतका ठाउँमा विद्युत् सव–स्टेसनको निर्माण कार्य सम्पन्न गर्ने तथा जिल्लामा १ सय ३२ केभिए विद्युत् प्रसारण लाइन पुर्‍याउने नेकपाले सङ्कल्प गरेको छ । 

सहरी विकास तर्फ राडी–सिमबजार, छिनखेत, पेदी, सिम्रुतु, सोलाबाङ, झुल्नेटा, चौफा क्षेत्रलाई ग्रामीण सहरको रूपमा विकास गर्ने, चौरजहारीमा निर्माणाधीन नयाँ सहर आयोजनालाई तीव्रता दिने र जिल्ला सदरमुकामलाई सहरीकरण गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने, जलविद्युत उत्पादनलाई प्राथमिकता दिने, स्यार्पू हाइड्रोपावर निर्माण सम्पन्न गरी स्थानीय जनतालाई शेयर वितरण मार्फत नियमित आम्दानीको भरपर्दो माध्यमको अवसर प्रदान गर्ने पनि नेकपाको सङ्कल्प पत्रमा उल्लेख छ । 

सूचना तथा सञ्चार तर्फ आवश्यक स्थानहरूमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्ने, सञ्चार संस्था तथा सञ्चारकर्मीहरूको पेसागत र आत्मनिर्भरताको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने, सामाजिक विकास अन्तर्गत शिक्षा तर्फ हरेक पालिकामा गुणस्तरीय शैक्षिक केन्द्रहरू निर्माण गर्ने र सबै विद्यालयहरूमा पक्की र सुविधाजनक भवन निर्माण गर्ने भनिएको छ ।

स्वास्थ्य तर्फ जिल्ला अस्पताललाई ५० श्यैयामा स्तरोन्नति गर्ने, पालिका अस्पतालहरूमा जनशक्ति र प्रविधिको व्यवस्था गर्ने, मोबाइल हस्पिटल सञ्चालनमा ल्याउने, स्थानीय अस्पतालमा विशेषज्ञ सेवाका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, संस्कृति संरक्षण तर्फ मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख छ । 

यसका साथै युवा, खेलकुद तर्फ सबै पालिकामा खेल मैदान र प्रस्तावित रङ्गशाला निर्माण सम्पन्न गर्ने, आर्थिक विकास तर्फ पर्यटन अन्तर्गत स्यार्पू तालमा इको टुरिजम र मनोरञ्जन केन्द्र, भेरी नदीमा साहसिक जलयात्रा, चित्रिपाटन, सिस्ने राउण्ड पदमार्ग, मौराखारामा साहसिक पर्यटन पदयात्रा र हाइकिङ, डिग्रे मन्दिरमा, रिम्नादोभान लगायतका क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटन, गुरिल्ला ट्रेल रेस, खारास्थित जनयुद्ध संग्रालयलाई युद्ध पर्यटनको रूपमा विकास गर्ने भनिएको छ । 

कृषि उत्पादन तथा पशुपालन तर्फ आधुनिक कृषि प्रवधि, उन्नत बीउ–विजन र प्रविधिको पहुँच विस्तार, कृषि उपजको भण्डारण, प्रशोधन र बजारीकरण, रोजगारी तर्फ कृषिमा आधारित साना उद्योग स्थापना गर्ने, वैरागी ठाँटीमा निर्माणाधीन दुग्ध उद्योग लगायत पालिकामा रहेका उद्योग सञ्चालनमा ल्याउने लगायतका विषयलाई पनि नेकपाले सङ्कल्प पत्रमा प्रमुखताका साथ उल्लेख गरेको छ ।

कार्यक्रममा बोल्दै प्रत्यक्ष उम्मेदवार गोपाल शर्माले रुकुम पश्चिमको रूप बदल्ने गरी सबै क्षेत्रको विकासलाई समेटेर सङ्कल्प पत्र तयार पारिएको र यसलाई गम्भीरताका साथ कार्यान्वयन गरिने बताउनुभयो । रुकुम समग्र विकासका लागि मार्ग चित्र निर्माण भएको र आफ्नो उम्मेदवारी यसैका लागि भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा समानुपातिक उम्मेदवार झक्कुप्रसाद घर्ती, नेकपाका केन्द्रीय कार्यालय सचिव गणेशमान पुन लगायतका नेताहरूको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन पार्टीका केन्द्रीय सदस्य गोविन्द रोका सचिनले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update