आगामी निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमले संयुक्त चुनावी प्रचारलाई तीव्रता दिएका छन् । मुसिकोटमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर संयुक्त चुनावी प्रचारमा निस्किने जानकारी गराएका दुवै दल संयुक्त प्रचारमा व्यस्त छन् । उम्मेदवार जनार्दन शर्मा सहित दुवै पार्टीका नेता कार्यकर्ता चुनावी प्रचारका लागि जिल्लाको चौरजहारी नगरपालिकामा छन् ।
जसमा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक नन्दराम देवकोटा सहित प्रलोपा र नेकपा एमालेका नेताहरू सहभागी छन् । आफ्ना साझा उम्मेदवार जनार्दनलाई जिताउन दुवै दल जोडतोडका साथ चुनावी प्रचारमा होमिएका छन् । चौरजहारीका ९ वटा वडामा पुगेको प्रलोपाका जिल्ला संयोजक शैलशकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म १, २, ३, ४, ५, ६, ७, १०, ११ र १२ नम्बर वडामा चुनावी जनभेटघाट तथा बैठक र छलफल भएको छ । केही वडामा संयुक्त र केही वडामा एकल भेटघाट तथा छलफल भएको उहाँले बताउनुभयो । सबै वडामा पुग्ने उहाँले बताउनुभयो । यसअघि आठबिसकोट नगरपालिकाका वडा नम्बर ४, ५, ६ लगायतका वडामा जनार्दन सहितको प्रलोपाको टोली पुगेर जनभेटघाट तथा छलफल गरेको थियो ।
उक्त क्रममा एमालेको वडा स्तरका नेता कार्यकर्ता पनि सहभागी थिए । तर चौरजहारीमा भने जिल्ला स्तरकै संयुक्त टोली पुगेको हो । अब जिल्लामा हुने सबै कार्यक्रम संयुक्त हुने संयोजक शर्माको भनाई छ । चुनावलाई लक्षित गरेर दुई पार्टीका संयुक्त बैठक समेत बस्न थालेका छन् ।
प्रलोपाका जिल्ला संयोजक शर्माका अनुसार चौरजहारीमा संयुक्त बैठक बसिसकेको छ भने आज आठबिसकोटमा एमाले र प्रलोपाको संयुक्त बैठक बसेको उहाँले बताउनुभयो । उम्मेदवार सहितको टोली क्रमशः सबै ठाउँमा पुग्ने र अहिले पनि जिल्ला भरमै स्थानीय पार्टी कमिटीले चुनावी प्रचारप्रसारको काम भने गरिरहेको बताइएको छ ।
रुकुम पश्चिममा नेकपा एमालेले प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सघाउने केन्द्रीय स्तरमै सहमति भएपछि नेकपा एमाले आफ्नो उम्मेदवार निष्क्रिय पारेर प्रलोपाका उम्मेदवारलाई जिताउन लागेको हो । नेकपा एमालेका तर्फबाट रुकुम पश्चिममा नन्दराम देवकोटाको उम्मेदवारी परेको थियो । देवकोटाकै नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएर संयुक्त प्रचार थालिएको हो ।





-1759842583.jpg)