फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर रुकुम पश्चिममा मतदान स्थलहरूको अनुगमनलाई तीव्र पारिएको छ । निर्वाचन सम्बन्धी अन्य गतिविधि जस्तै मतदान स्थलको अनुगमनलाई तीव्र पारिएको हो ।
जिल्ला सुरक्षा समितिको नेतृत्वमा सम्बन्धित ठाउँका जनप्रतिनिधि, नागरिक समाज, सबै सुरक्षा निकाय सहित सरोकारवालाहरूको उपस्थितिमा अनुगमन भइरहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो ।
हालसम्म जिल्लाका २५ वटा मतदान स्थलको अनुगमन सकिएको उहाँले बताउनुभयो । जिल्लाका सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा रहेका मतदान स्थलहरूको अनुगमन सकिएको उहाँले बताउनुभयो ।
अब २, ३ दिनमा आठबिसकोट नगरपालिकाका मतदान स्थलको अनुगमन हुने उहाँको भनाई छ । मतदान स्थलमा मत पेटिका ढुवानीको लागि सडकको पहुँच, तरबार लगायत समग्र सुरक्षा कस्तो छ भनेर अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी थानीले जानकारी गराउनुभयो ।
अनुगमन सँगै मतदान स्थलको सुरक्षा सहित निर्वाचनको समग्र अवस्थाका बारेमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय बासिन्दा, नागरिक समाज, गैरसरकारी संस्था सहित सबै सरोकारवालाहरूको भेला तथा छलफल समेत भइरहेको उहाँको भनाई छ ।
यसका साथै मतदान स्थलको सुरक्षाका लागि गर्नुपर्ने सुधारका आवश्यकता पहिल्याउनुका साथै त्यसको सुधारका लागि निरन्तर ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष लगायतसँग निरन्तर छलफल समेत भइरहेको उहाँले बताउनुभयो । जिल्लामा ६ वटा स्थानीय तह र ७३ वडा रहेकामा ७६ वटा मतदान स्थल रहेका छन् । सुरक्षाका दृष्टिकोणले उक्त मतदान स्थलहरूको वर्गीकरण गरिएको छ ।
समग्र शान्ति सुरक्षा, दलहरूको प्रतिस्पर्धा, आवागमनको सहजता लगायतका सूचकका आधारमा मतदान स्थलहरूको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी थानीको भनाई छ ।
उहाँका अनुसार मतदान स्थलको अवस्था अनुसार सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्लामा ७६ मतदान स्थल रहेकामा १ सय ४० वटा मतदान केन्द्र रहेका छन् ।





-1759842583.jpg)