रुकुम पश्चिममा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गरिएको छ । रुकुम पश्चिमका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले आज एक प्रेस नोट जारी गर्दै राजनीतिक दल, उम्मेदवार, दलका भातृ सङ्गठन, पत्रकार, नागरिक समाज र आम सर्वसाधारण नागरिकलाई निर्वाचन आचार संहिता पालना गर्न आग्रह गर्नुभएको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गराउने कार्य उम्मेदवार, राजनीतिक दल, दलका भातृ सङ्गठन पत्रकार र आम सर्वसाधारण नागरिकहरू सबैको कर्तव्य एवम् दायित्व रहेको र निर्वाचन आचार संहिता, २०८२ निर्वाचन आयोगबाट जारी भएकोले उक्त आचारसंहिताको जिल्लामा पूर्ण पालना गर्न आग्रह गरिएको छ ।्
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत ओलीद्वारा जारी नोटमा राजनीतिक दल, उम्मेदवार, दलका भातृ सङ्गठन, पत्रकार तथा सम्बन्धित व्यक्तिले निर्वाचन आचार संहिता, २०८२ को दफा १३ मा उल्लेखित मापदण्ड भित्र रही निर्वाचन प्रचारप्रसार सम्बन्धी गर्न सक्ने र त्यसभन्दा बाहिरका काम गर्न नपाइने उल्लेख छ ।
आचारसंहिता अनुसार राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले प्रचलित कानुन र आचारसंहिता विपरीत पोस्टर, तुल, ब्यानर भित्ते लेखन र डिजिटल डिस्प्ले प्रयोग गर्न नपाउने, कसैको निजी घर, जग्गा वा सार्वजनिक भवन, उद्यान, सडकका भित्ता वा पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख वा टाँस्न पाइने छैन ।
प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक समर्थक सहित २५ जना भन्दा बढीको जुलुस तथा झाँकी लिएर जान नमिल्ने, जुलुस वा आम सभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाइने भनिएको छ ।
त्यस्तै मतदान हुने दिन भन्दा १७ दिन अघि अर्थात् फागुन ४ गते देखि मात्र निर्वाचन प्रचारप्रसार सम्बन्धी जुलुस, आमसभा, कोण सभा वा भेला, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामाग्री प्रकाशन वा प्रसारण गर्न पाइने निर्वाचन आचारसंहिता अनुगमन अधिकृत ओलीले जानकारी गराउनुभएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा उम्मेदवारी रद्द हुने सम्मको सजायको व्यवस्था रहेको स्मरण गराउँदै आचारसंहिता उल्लङ्घन गरेको थाहा पाएमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई जानकारी गराउन समेत आग्रह गरिएको छ ।
अरू के के गर्न पाइने छैन ?
उम्मेदवार तथा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३ह४ फिटको दलको झन्डा र सोही नापको चुनाव चिन्ह राख्ने बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै डिजिटल बोर्ड फ्लेक्स वा ग्लुसाइन बोर्ड राख, श्रव्य सामाग्री बजाउन र श्रव्य दृश्य सामाग्रीहरू प्रदर्शन वा प्रसारण गर्न पाइने छैन ।
जुलुस, आम सभा कोण सभा वा भेला गर्नु अघि स्थानीय प्रशासनको अनुमति लिई मिति, समय मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगावै स्थानीय प्रहरीलाई जानकारी गराउनु पर्ने छ ।
एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोण सभा बैठक वा भेला गर्नु हुँदैन । त्यस्तो अवस्थामा स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गर्नु पर्ने छ ।
धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था आश्रम जस्ता स्थान वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न अनुदान आर्थिक सहायता चन्दा पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न हुँदैन ।
विना स्वीकृति राजनीतिक दलको कार्यालय बाहेक अन्य कुनै पनि स्थानमा दलको झन्डा राख्न पाइने छैन ।
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्प सङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने कुनै पनि किसिमका प्रचारप्रसार गर्न हुँदैन ।
आयोगले तोके बमोजिम बढीमा २ (दुई) वटा पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन चल्न नसक्ने ठाउँमा बढीमा चार वटा घोडाको प्रयोग गर्न सक्ने । तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई प्रयोगको अनुमति दिइने छैन।
सरकारी/अर्धसरकारी संस्थान विद्यालयको भवन तथा क्षेत्र (जग्गा) प्रयोग गरी निर्वाचन सम्बन्धी भेला, कार्यक्रम वा प्रचारप्रसार गर्न पाइने छैन ।
राष्ट्रिय झन्डा प्रयोगको सम्बन्धमा गृह मन्त्रालयको मिति २०८२।१०।११ गतेको प्रेस विज्ञप्ति बमोजिम पालना गर्न/गराउनु हुन ।
निर्वाचन आचारसंहिता, २०८२ निर्वाचन आयोग नेपालको आधिकारिक वेबसाइट https://election.gov.np बाट हेर्न सकिने साथै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने/गराउनु हुन सम्बद्ध सरोकारवाला सबैमा अनुरोध छ।
निर्वाचन आचारसंहिताले तोकेका व्यवस्था विपरीत आचारसंहिता उल्लङ्घनका विषयमा निर्वाचन आचारसंहिता, २०८२ को दफा ४८ आकर्षित भई उम्मेदवारी रद्द हुने सम्मको सजायको व्यवस्था रहेको ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । कुनै द्विविधा भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र आचारसंहिता अनुगमन अधिकृतसँग सम्पर्क गर्न सक्नुहुनेछ । साथै आचारसंहिता उल्लङ्घन गरेको थाहा पाउने वा देख्ने व्यक्तिले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई जानकारी गराउन सक्ने ब्यहोरा समेत सूचित गरिन्छ ।





-1759842583.jpg)