Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा प्रलोपाको निर्वाचन परिचालन समिति निर्माण 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा प्रगतिशील लोकतान्त्रिक पार्टीको निर्वाचन परिचालन समिति निर्माण भएको छ । मङ्गलवार सानीभेरी गाउँपालिकाको सिम्लीमा बसेको बैठकले तिलकबहादुर ओलीको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । 

उक्त समितिमा पार्टीका पालिका तथा वडा स्तरीय नेता कार्यकर्ताहरूलाई राखिएको प्रलोपाका जिल्ला संयोजक शैलेशकुमार शर्माले जानकारी दिनुभयो । चुनावी तालमेलको केन्द्रीय सहमति अनुसार जिल्लामा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाको संयोजकत्वमा जिल्ला स्तरीय समिति बनिसकेको छ । 

अहिले पार्टीकाे निर्वाचन परिचालन समिति निर्माण भएकाे र भाेली दुई पार्टीकाे संयुक्त निर्वाचन परिचालन समिति निर्माण हुने जिल्ला संयाेजक शर्माकाे भनाई छ । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीका बिचमा रुकुम पश्चिममा नेकपा एमालेले प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ । 

जस अनुसार नेकपा एमालेका रुकुम पश्चिम उम्मेदवार नन्दराम देवकोटाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर जनार्दन शर्माको प्रचारमा हिँड्नुभएको छ । उक्त समितिले जिल्ला स्तरीय प्रचारलाई तीव्रता दिइरहेको छ भने पालिका स्तरीय प्रचारका लागि पालिका स्तरीय निर्वाचन परिचालन समिति बनाइरहेको प्रलोपाका जिल्ला संयोजक शर्माले बताउनुभयो । 

यसैबिच सानीभेरीमा प्रलोपाको पालिका समिति गठन गरिएको छ । मङ्गलवार नै भएको भेलाबाट पृथीबहादुर नकाललको संयोजकत्वमा ४१ सदस्यीय पालिका समिति निर्माण गरिएको हो । प्रलोपाले जिल्लामा सङ्गठन विस्तारलाई पनि तीव्रता दिइरहेको छ । भर्खरै निर्माण भएको उक्त पार्टीले आगामी निर्वाचन समेतलाई लक्षित गरेर चुनावी प्रचार प्रसार तथा पार्टी सङ्गठन निर्माणलाई सँग सँगै अघि बढाइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update