आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा १ लाख बढी मतदाता रहेका छन् । निर्वाचन आयोगले पछिल्लो पटक थप भएका सहित जिल्लाका लागि १ लाख ६ हजार ६ सय ६० मतदाता कायम गरेको छ । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि अब यी मतदाताले मत हाल्ने पाउने छन् ।
जिल्लामा गत २०७९ को निर्वाचन पछि २ हजार ३ सय ८० मतदाता थप भएका छन् । साथै मृत्यु भएका, दोहोरो परेका र नागरिकता त्याग गरेका १ हजार ९ सय ८८ जना मतदाताको नाम हटाइएको छ । जिल्लामा पछिल्लो पटक असोज १० गते देखि मंसिर ५ गतेसम्मको समयमा २ हजार ३ सय ८० जना मतदाता थप भएका थिए ।
जिल्लामा कुल मतदातामा पुरुषको संख्या बढी रहेको छ । पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेकामा महिला मतदाता संख्या ५२ हजार ३ सय ९६ र १ जना अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्लामा ६ स्थानीय तह रहेकामा सबै भन्दा बढी मतदाता मुसिकोट नगरपालिकामा रहेका छन् ।

मुसिकोटमा २३ हजार ३ जना मतदाता रहेको कार्यालयले जनाएको छ । त्यस्तै आठबिसकोट नगरपालिकामा २१ हजार १ सय १० र चौरजहारी नगरपालिकामा १९ हजार १ सय ३५ मतदाता रहेका छन् । जिल्लाका तीन गाउँपालिकामा भने मतदाता संख्या उस्तै उस्तै रहेको छ ।
सानीभेरी गाउँपालिकामा १४ हजार ८ सय ७६ जना, त्रिवेणी गाउँपालिकामा १४ हजार ५ सय ६ जना र बाँफिकोट गाउँपालिकामा १४ हजार ३० जना मतदाता रहेका छन् । जिल्लाका ७३ वडामा ७६ मतदान स्थल र १ सय ४० वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उक्त केन्द्रमा मतदान हुने छ ।





-1759842583.jpg)