Kakhara सबैको खबर सम्पूर्ण खबर
विरासत कायम राख्ने चुनौती सहित नेकपा रुकुम पश्चिम चुनावी घरदैलोमा व्यस्त, कहाँ कहाँ पुग्यो ?  

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर दलहरू यति बेला घरदैलोमा व्यस्त छन् । मतदाताहरूलाई आफूतिर केन्द्रित गर्न दल तथा तीनका उम्मेदवारहरू चुनावी घरदैलो तथा जनभेटघाटमा व्यस्त छन् । यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्लामा चुनावी प्रचारलाई तीव्रता दिएको छ । 

मुसिकोट नगरपालिकाबाट चुनावी प्रचार सुरु गरेको नेकपा चुनावी प्रचार लिएर जिल्लाका गाउँ गाउँमा पुगिरहेको छ । नेकपाले मुसिकोट नगरपालिकाका सबै १४ वटै वटामा चुनावी प्रचार सकाएको केन्द्रीय सदस्य तथा जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले बाँफिकोट गाउँपालिकामा समेत प्रचार सकाएको छ । 

मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा चुनावी घरदैलो र जनभेटघाट सकाएर नेकपा हिजोबाट चौरजहारी नगरपालिकामा प्रवेश गरेको छ । पार्टीले हिजो वडा नम्बर १, २ र ३ नम्बर वडामा चुनावी कार्यक्रम गरेको नेकपा रुकुम पश्चिमले जनाएको छ । पार्टीले आज वडा नम्बर ४, ५ र ७ नम्बर वडामा चुनाव लक्षित कार्यक्रम सञ्चालन गरेको युवा नेता अनिल केसीले जानकारी दिनुभयो । 

चौरजहारी नगरपालिका नेकपाका उम्मेदवार गोपाल शर्माको गृह नगर समेत हो । जस कारण पनि नेकपाले चौरजहारीलाई विशेष महत्वका साथ हेरिरहेको छ । सोही अनुसार चुनावी प्रचार भइरहेको नेकपाले जनाएको छ । क्रमशः जिल्लाका सबै वडा वडामा पुगेर चुनावी घरदैलो तथा जन भेटघाट कार्यक्रम चलाउने जिल्ला संयोजक रोकाले जानकारी गराउनुभयो । 

नेकपाले रुकुम पश्चिममा आगामी निर्वाचनलाई विशेष महत्वका साथ लिएको देखिन्छ । पार्टीका प्रभावशाली नेता जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उहाँलाई पराजित गरेर रुकुमको विरासत कायम राख्ने दाउमा नेकपा छ । आफ्ना मतलाई सुरक्षित राखेर निर्वाचनमा कुनैबेलाका आफ्नै नेता जनार्दन शर्मा विरुद्ध जित निकाल्ने गरी गोपाल शर्मा र पार्टी जोडतोडका साथ लागेको छ ।

नेकपा एमालेको समेत साथ पाउनुभएका जनार्दन शर्मा पनि आफूसँग सिङ्गो रुकुमेली जनता रहेको भन्दै आफ्नो जित सुनिश्चित रहेको दाबी सहित चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ । यस पटक रुकुम पश्चिमको निर्वाचन रोचक मोडमा छ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update