Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्वाचन गतिविधिमा बालबालिकाकाे प्रयोग नगर्ने रुकुम पश्चिमका दलहरूको प्रतिबद्धता 

रुकुम पश्चिमका राजनीतिक दलहरूले फागुन २१ गतेको निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा रुकुमेली समाज विकास केन्द्रको व्यवस्थापनमा सिसीआर कर्णालीले आयोजना गरेको कार्यक्रममा सहभागी राजनीतिक दलहरूले निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् । 

दलहरूले हालसम्म जिल्लामा निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग नगरेको र यसबारेमा गम्भीर रहेको बताएका थिए । नेपाली काँग्रेसका जिल्ला सह सचिव यज्ञ विष्टले नेपाली काँग्रेस निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग हुन नदिन गम्भीर रहेको बताउनुभयो । कुनै त्रुटि भएको खण्डमा त्यसलाई तत्कालै सच्याउने र बालबालिकाको प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभयो । 

नेपाली कम्युनिस्ट पार्टीका सुन्दर शर्माले पनि आफ्नो पार्टीको चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नभएको र यस विषयमा पार्टी चनाखो रहेको बताउनुभयो । उहाँले पनि आफ्ना चुनावी गतिविधिमा बालबालिकाको प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा एमालेका जिल्ला सचिव शशीराम नेपालीले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग कानुन विपरीत रहेको भन्नेमा आफूहरू सजग रहेको बताउनुभयो । 

यसमा सम्बन्धित निकायको प्रभावकारी अनुगमनको आवश्यकता औँल्याउँदै उहाँले कानुन विपरीत गर्नेलाई तत्काल कारबाहीको भागिदार बनाउनुपर्ने बताउनुभयो । प्रगतिशील लोकतान्त्रिक पार्टीका दलबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका दीपेन्द्र विष्ट, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, उज्यालो नेपाल पार्टीका उत्तम भट्टराई लगायतले पनि चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने र प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभयो । 

सिसीआर कर्णालीका महासचिव विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा निर्वाचन आचारसंहिता र बाल अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि राजनीतिक दल र नागरिक समाज बिचको अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग गर्नु आचारसंहिता विपरीत रहेको र यसबारेमा जानकारी भएमा उजुरी गर्न आयोजकले अनुरोध गरेको थियो ।

महासचिव शर्माले दलहरूले बालबालिकाको प्रयोग नगर्ने भनेर प्रतिबद्धता जनाएको र जिल्लामा निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग हुन नदिन तथा प्रयोग भएको पाइएमा कानुनी उपचार खोज्न उहाँले सबै पक्षलाई आग्रह गर्नुभयो । दलहरूलाई आफैले जनाएको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्न तथा यस बारेमा चनाखो भएर बस्न उहाँले सरोकारवालाहरूलाई समेत आग्रह गर्नुभयो । 

रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रियालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सिसीआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update