Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा तीन दलले मात्र बुझाए घोषणा पत्र 

फागुन २१ गतेको निर्वाचनका लागि रुकुम पश्चिममा अहिलेसम्म ३ दलले मात्र घोषणा पत्र बुझाएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्र ३ दल राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले मात्र घोषणा पत्र बुझाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचन आयोगले दलहरूलाई फागुन ३ गतेभित्र घोषणा पत्र बुझाउन समय दिएको थियो । जिल्लामा १२ दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । तर अहिलेसम्म ३ दलबाट मात्र घोषणा पत्र पेस भएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । 

नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, उज्यालो नेपाल पार्टी र नेकपा संयुक्तले घोषणा पत्र बुझाउन बाँकी छ । 

आजदेखि दलहरूले निर्वाचन प्रचार सुरु गर्न पाउने समय रहेकामा निर्वाचन आयोगले देशै भरका उम्मेदवारहरूलाई फागुन ३ गते भित्र आफ्नो दलको घोषणा पत्र मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पेस गर्न समय तोकेको थियो । 

त्यस्तै उम्मेदवारी दिएका १२ दल मध्य ६ दलका उम्मेदवारले मात्र छुट्टै चुनावी खाता खोलेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय जनमोर्चा, नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, आम जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र उज्यालो नेपाल पार्टीले निर्वाचन प्रयोजनका लागि खाता खोलेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा (संयुक्त), नेकपा (माओवादी) र नेकपा (एमाले)ले बैङ्क खाता खोलेको बारेमा जानकारी गराएका छैनन् ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update