प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुकुम पश्चिममा मतदाता शिक्षा स्वयंसेवक परिचालन भएका छन् । जिल्लामा ७३ वडा रहेकामा प्रति वडा १ जनाका दरले ७३ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उनीहरुका लागि पालिकास्तरमै अभिमुखिकरण सञ्चालन गरेर आज देखि वडा वडामा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो । मतदाता शिक्षाका लागि खटिएका स्वयंसेवकहरुलाई पालिका स्तरमै पालिकामा रहेका अनुगमन कर्ताले अभिमुखीकरण गरेका थिए ।
उहाँका अनुसार वडामा खटिएका मतदाता शिक्षा स्वयंसेवकहरुले नमूना मतदान लगायतका कार्यक्रमबाट मतदानको तरिका सिकाउनुका साथै मत बदर हुने अवस्थाका बारेमा आम मतदातालाई शिक्षा दिएर मतदानका लागि प्रेरित गर्ने र मत बदरलाई कम गर्न भूमिका खेल्ने छन् ।
साथै उनीहरुले विभिन्न मतदाता शिक्षा प्रदान गर्ने छन् । मतदाता स्वयंसेवकका रुपमा महिला स्वास्थ्य स्वयंसेविका, बालविकास शिक्षक र माशिका परिचालन हुने केसीले बताउनुभयो । ६ वटा पालिका रहेकोे जिल्लामा ७३ वडा रहेकामा ७६ वटा मतदान स्थल र १ सय ४० वटा मतदान केन्द्रहरु रहेका छन् ।





-1759842583.jpg)