उज्यालो नेपाल पार्टी रुकुम पश्चिमले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज मुसिकोट नगरपालिका १ खलङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी उज्यालो नेपाल पार्टी रुकुम पश्चिमका उम्मेदवार नरेन्द्र केसीले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । उम्मेदवार केसीले मुख्य प्रतिबद्धतामा भ्रष्टाचारमा शून्य सहनशीलता लागु गरिने बताउनुभएको छ ।
जस अन्तर्गत बजेटको हरेक पैसा पारदर्शी रूपमा जनताले मोबाइलबाटै योजना र प्रगति हेर्न सक्ने डिजिटल प्रणालीको विकास गरिने, कमिसन तन्त्रको अन्त्य, पारदर्शी लेखा परीक्षण सञ्चालन, योग्यता र क्षमतामा आधारित अवसर, चाकरी-सोर्सफोर्सको अन्त्य, अधुरा पूर्वाधार तीव्र गतिमा सम्पन्न, अलपत्र उद्योग पुनरुत्थान गर्ने व्यवस्था मिलाइने जनाउनुभएको छ ।
त्यस्तै ऊर्जा र जलस्रोतको क्षेत्रमा रुकुमेली लगानी, रुकुमेली लाभ नारासहित सानीभेरी र ठुलीभेरीमा चिलिमे मोडल लागू गरी स्थानीयको सेयर सुनिश्चित गरी पहिलो चरणमा विपन्नलाई, दोस्रोमा सबैलाई निःशुल्क विद्युत् र रुकुमको पानीले रुकुमेलीको खल्ती भर्ने व्यवस्था मिलाइने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै गरी डिजिटल रुकुम र स्मार्ट कनेक्टिभिटी अन्तर्गत बाह्रै महिना धुलो र हिलोमुक्त सुरक्षित सडक, प्रत्येक वडामा विकास, हाइ–स्पिड इन्टरनेट, गाउँमै बसेर विश्वसँग जोड्ने उल्लेख गर्नुभएको छ ।
एकीकृत कृषि र आत्मनिर्भरतर्फ भूमि बैङ्क मार्फत बाँझो जमिन पहिचान गरी गरी युवा तथा सहकारीलाई लिजमा उपलब्ध गराई सिँचाइ क्रान्ति, प्राङ्गारिक हब, फलफूल जोन स्याउ, सुन्तला, किवी उन्नत बीउ, औजार अनुदान दिने व्यवस्था मिलाइने, युवा स्वरोजगार र पर्यटनतर्फ ५ वर्षमा जलविद्युत, कृषि, प्रविधि मार्फत ५ वर्षमा १० हजार युवालाई जिल्लामै स्वरोजगार बनाइने समेत उम्मेदवार केसीले प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
त्यस्तै गरी सिस्ने हिमालदेखि स्यार्पू तालसम्म पर्यटकीय पदमार्ग, र्याफ्टिङ, होमस्टे-विश्वस्तरीय गन्तव्य बनाइने उल्लेख गरिएको छ । शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्न शिक्षातर्फ प्राविधिक शिक्षालय, स्मार्ट क्लास, डिजिटल लर्निङ, उज्यालो छात्रवृत्ति कोष स्थापना, स्वास्थ्यतर्फ घरदैलो मोबाइल हेल्थ युनिट, निःशुल्क बिमा, टेलिमेडिसिन, प्रसूति सुरक्षा, जिल्ला अस्पताललाई रेफरल सेन्टर बनाइने लगायतका १६ बुँदे निर्वाचन प्रतिबद्धता पत्र उज्यालो नेपाल पार्टी रुकुम पश्चिमका उम्मेदवार केसीले सार्वजनिक गर्नुभएको हो ।
उहाँले पालिका अनुसार छुट्टा छुट्टै प्राथमिकता तय गर्नुभएको छ । ६ पालिका ६ सङ्कल्प अन्तर्गत मुसिकोटमा स्मार्ट सिटी, पर्यटकीय तथा व्यापारिक हब, चौरजहारीमा औद्योगिक क्षेत्र विस्तार र भेरी कोरिडोरको केन्द्र तथा आठबिसकोटलाई ऊर्जा, फलफूल, जडीबुटीको हबका रूपमा विकास गर्ने केसीको योजना छ । त्यस्तै सानीभेरी गाउँपालिकामा जल-पर्यटन, एकीकृत कृषि, बाँफिकोटमा विश्व स्तरीय पर्यटन विकास तथा त्रिवेणीलाई पशुपालन र नगदे बालीको केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
भूकम्पबाट पाठ सिक्दै सुरक्षित पुनर्निर्माण र एकीकृत बस्ती विकासको व्यवस्था मिलाउने, गैरसरकारी संस्था तथा समुदायलाई विकास साझेदारीका रूपमा लिने, जातीय विभेद अन्त्यका लागि व्यवहारमा समानता कायम गर्ने, सामाजिक सुरक्षा तर्फ कोही एक्लो नहुने नीति लिने र कर्मचारी, शिक्षकका समस्या समाधानका लागि राहत, करार स्थायी करण तथा अन्य विभेद अन्त्य गर्ने भनिएको छ ।





-1759842583.jpg)