रुकुम पश्चिममा अझै पनि सबै दलले घोषणा पत्र नबुझाएको पाइएको छ । फागुन २१ गतेको निर्वाचनमा सामेल भएका दलहरूले फागुन ३ गतेभित्र केन्द्रको हकमा निर्वाचन आयोग तथा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा घोषणा पत्र बुझाउनुपर्ने थियो । तर रुकुम पश्चिममा अहिलेसम्म ४ दलका तर्फबाट मात्र घोषणा पत्र बुझाइएको छ ।
निर्वाचन आयोगले फागुन ३ गतेसम्म तोकेको समयमा जिल्लामा ३ दलले मात्र घोषणा पत्र बुझाएका थिए । आज एउटा दलको तर्फबाट घोषणा पत्र पेस भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म राष्ट्रिय जनमोर्चा पार्टी, नेपाली कम्युनिस्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र आम जनता पार्टीले मात्र घोषणा पत्र बुझाएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो ।
जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले तोकिएकै समय भित्र घोषणा पत्र बुझाएका हुने भने आम जनता पार्टीले आज बुझाएको हो । जिल्लामा १२ दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । तर अझै ८ दलले घोषणा पत्र बुझाएका छैनन् ।
निर्वाचन आयोगको कार्य तालिका अनुसार दलहरूले फागुन ३ गतेसम्म घोषणा पत्र बुझाउनुपर्नेमा जिल्लामा हालसम्म ४ दलले मात्र घोषणा पत्र बुझाएको बताउँदै सहायक निर्वाचन अधिकृत शाहीले यस विषयमा दलहरूलाई सूचित गरिएको जानकारी गराउनुभयो । ‘‘हामीसँग सूचित गर्नुबाहेक अरू अधिकार छैन, हामीले घोषणा पत्र नबुझाएका दलहरूलाई बुझाउन भनिरहेका छौँ,’ उहाँले भन्नुभयो ।
नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, उज्यालो नेपाल पार्टी र नेकपा संयुक्तले घोषणा पत्र बुझाउन बाँकी छ ।
हिजो फागुन ४ गतेदेखि दलहरूले निर्वाचन प्रचार सुरु गर्न पाउने समय रहेकामा निर्वाचन आयोगले देशै भरका उम्मेदवारहरूलाई फागुन ३ गते भित्र आफ्नो दलको घोषणा पत्र निर्वाचन आयोग तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न समय तोकेको थियो ।
त्यस्तै उम्मेदवारी दिएका १२ दल मध्य ८ दलका उम्मेदवारले मात्र छुट्टै चुनावी खाता खोलेका छन् । सहायक निर्वाचन अधिकृत शाहीका अनुसार हालसम्म राष्ट्रिय जनमोर्चा, नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, आम जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा एमालेले निर्वाचन प्रयोजनका लागि खाता खोलेको बारेमा जानकारी गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा (संयुक्त) र नेकपा (माओवादी)ले निर्वाचन प्रयोजनका लागि छुट्टै बैङ्क खाता खोलेको बारेमा जानकारी गराएका छैनन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा १२ दलबाट उम्मेदवारी परेकामा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीलाई सघाउने भएको छ ।





-1759842583.jpg)