फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि रुकुम पश्चिममा २ सय ८० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । निर्वाचन प्रहरी सहित जिल्ला भरमा २ सय ८० जना परिचालन गरिएको सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म मठले जानकारी दिएको छ ।
जिल्लाको सानीभेरी गाउँपालिकामा निर्वाचन क्षेत्र सुरक्षा बेस रहेको छ । जसको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी उत्तम बस्नेतले गर्नुभएको छ भने उक्त बेसमा निर्वाचन प्रहरी र सशस्त्र प्रहरी गरी ४७ जनाको टोली खटिएको सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यस्तै अन्य पालिकामा स्ट्राइकिङ बेस र मोबाइल बेसको टोली परिचालित भएको उहाँको भनाई छ । मुसिकोट नगरपालिकामा कार्यालय सहित गरी ८५ जना, आठबिसकोट नगरपालिकामा ४९ जना, चौरजहारी नगरपालिकामा ३७ जना तथा बाँफिकोट र त्रिवेणीमा २४/२४ जनाको टोली परिचालन भएको सशस्त्र प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
त्यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा ७/७ जनाको टोली परिचालन भएको छ । उक्त टोलीले निर्वाचन सुरक्षाको दोस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने छ । गृह मन्त्रालयबाट पारित केन्द्रीय सुरक्षा परिचालन नीति अनुसार जिल्लामा पनि सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।
निर्वाचन सुरक्षा परिचालन नीति अनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने छ । सोही अनुसार सशस्त्रले निर्वाचन सुरक्षा प्रदान गर्नुका साथै गाउँ गाउँमा निर्वाचनको माहौल बनाउने, आचारसंहिता कार्यान्वयन गराउने र मतदाता शिक्षा समेत प्रदान गर्ने बताइएको छ ।





-1759842583.jpg)