फागुन २१ गतेको निर्वाचनका लागि रुकुम पश्चिममा अझै पनि ६ दलले घोषणा पत्र बुझाएका छैनन् । निर्वाचनमा सहभागिताका लागि उम्मेदवारी दिएका १२ मध्ये ६ दलले मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा घोषणा पत्र बुझाएका छन् भने ६ वटाले अझै बुझाएका छैनन् ।
निर्वाचन आयोगले फागुन ३ गते भित्र निर्वाचन घोषणा पत्र बुझाउन समय तोकेको थियो । तर हालसम्म पनि नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा संयुक्तले आजसम्म पनि घोषणा पत्र नबुझाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हालसम्म राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, आम जनता पार्टी, उज्यालो नेपाल पार्टी र नेपाल मजदुर पार्टीले मात्र घोषणा पत्र बुझाएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । दलहरूले घोषणा पत्र सार्वजनिक गरिरहेको बारेमा सुन्नमा आएको भए पनि कार्यालयमा भने निकै कम मात्र दलले घोषणा पत्र बुझाएको उहाँले बताउनुभयो ।

दलहरूलाई यस बारेमा सूचित गर्दा पनि सबै दलको घोषणा पत्र प्राप्त गर्न नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाई छ । दलहरूले फागुन ४ गते देखि निर्वाचन प्रचार गर्न पाउने प्रावधान अनुसार निर्वाचन आयोगले फागुन ३ गते भित्र केन्द्रको सम्बन्धमा निर्वाचन आयोग र जिल्लाको हकमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा घोषणा पत्र बुझाउन समय तोकेको थियो ।
जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका केही दलले घोषणा पत्र समेत सार्वजनिक गरेका छैनन् । ठुलो दल नेपाली काँग्रेसले जिल्लामा आजसम्म घोषणा पत्र सार्वजनिक गरेको छैन । अर्को ठुलो दल नेकपा एमालेले उम्मेदवारी दिएको भए पनि प्रगतिशील लोकतान्त्रिक पार्टीलाई समर्थन गरेको छ । त्यस्तै अन्य दलले पनि घोषणा पत्र सार्वजनिक गरेका छैनन् ।
यसैबिच जिल्लामा उम्मेदवारी दिएका सबै दलले निर्वाचनका लागि छुट्टै बैङ्क खाता समेत सञ्चालन गरेको बारेमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराएका छैनन् ।





-1759842583.jpg)