फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि रुकुम पश्चिममा तोकिएका सबै मतदान स्थलहरूको अनुगमन सकिएको छ । जिल्लाका सबै मतदान स्थल र त्यहाँ रहेका केन्द्रहरू निर्वाचनका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो । मतदान स्थल व्यवस्थापन लगायतमा जिल्लामा निर्वाचनको तयारी पुरा भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, सबै सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थितिमा जिल्लाका सबै मतदान स्थल र त्यहाँ रहेका केन्द्रहरूको स्थलगत अनुगमन गरिएको प्रजिअ थानीले जानकारी गराउनुभयो ।
मतदान केन्द्रहरूको अवस्था, सुरक्षा चुनौती, भौगोलिक विकटता, सञ्चार लगायतको सुविधाका बारेमा स्थलगत अनुगमन गरिएको उहाँले बताउनुभयो । त्यस्तै अनुगमन मार्फत सुधार गर्नुपर्ने पक्ष औँल्याउँदै सोही अनुसार सुधार गरिएको उहाँको भनाई छ ।
सुरक्षा अवस्था, भौगोलिक अवस्थिति, यस अघिका निर्वाचन लगायतलाई हेरेर जिल्लाका मतदान स्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सोही अनुसार मतदान स्थलको सुरक्षा व्यवस्था मिलाइएको छ ।
समग्र रूपमा सहज मतदान र व्यवस्थित मतदानका लागि मतदान स्थलहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । अनुगमनका साथै निर्वाचनलाई स्वच्छ, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि सम्बन्धित मतदान स्थलका जनप्रतिनिधि, राजनीतिक, सरोकारवाला निकाय तथा आम मतदाताहरूसँग अन्तरक्रिया समेत गरिएको प्रमुख जिल्ला अधिकारी थानीले जानकारी गराउनुभयो ।
जसबाट निर्वाचन शिक्षा समेत प्रदान गरिएको उहाँको भनाई छ । निर्वाचनको माहौल निर्माण गरेर शान्तिपूर्ण रूपमा उल्लासमय वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्लाका सबै पक्ष प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । जिल्लामा ६ स्थानीय तह रहेकामा ७६ वटा मतदान स्थल र १ सय ४० वटा मतदान केन्द्रहरू रहेका छन् ।
जिल्लामा भौगोलिक विकटता, सञ्चारको असुविधा, असहज आवागमन, यस अघिका निर्वाचनको अस्वस्थ प्रतिस्पर्धालाई मुख्य चुनौतीका रूपमा लिइएको छ ।





-1759842583.jpg)