रुकुम पश्चिममा निर्वाचन लक्षित आमसभा, जुलुस, कोणसभा तथा भेला गर्नुअघि प्रशासनको अनुमति लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गर्दै दल तथा उम्मेदवारहरूलाई यस बारेमा जानकारी गराएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित एवं विश्वसनीय वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भई लागु भइसकेको अवस्थामा निर्वाचन प्रचारप्रसारको लागि जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा जिल्लास्थित सबै राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठन सबैले अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ बमोजिम जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा सभ्य एवं अनुशासित तरिकाले गर्नुपर्ने, भेला जुलुस, आमसभा र कोणसभा गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानबारे कम्तीमा २४ घण्टा अगावै जानकारी गराई जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सार्वजनिक स्थलमा कार्यक्रम गर्नुपर्ने उल्लेख छ ।
अनुमतिको लागि उम्मेदवार वा राजनीतिक दलको अख्तियारी प्राप्त अधिकारीले जिल्ला प्रशासन कार्यालय वा कार्यालयको इमेल मार्फत पनि अनुमति प्राप्त गर्न निवेदन पेस गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत केशवप्रसाद ओलीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
दलहरू यति बेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । जिल्ला भरमा दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । तर हालसम्म जिल्लामा निर्वाचन लक्षित ठुला सभाहरू भने सञ्चालन भएका छैनन् । निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरू मतदातालाई आफूतिर आकर्षित गर्न विभिन्न कार्यक्रम लिएर जनताकोमा छन् ।





-1759842583.jpg)