Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा २ वटा अस्थायी मतदान केन्द्र रहने
AI सिर्जित फाेटाे ।

फागुन २१ गतेको निर्वाचनका लागि रुकुम पश्चिममा २ वटा अस्थायी मतदान केन्द्र रहने भएका छन् । समानुपातिक तर्फको मतदानका लागि जिल्लामा २ वटा अस्थायी मतदान केन्द्र रहेन जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला कारागार र जिल्ला सदरमुकाम मुसिकोट १ खलङ्गाको बराटाकुरामा गरी २ वटा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो । कारागारको मतदान केन्द्रबाट कारागारमा रहेका कैदी बन्दीहरूले समानुपातिक तर्फ मतदान गर्ने उहाँले बताउनुभयो । 

बराहटाकुराको मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी लगायतले समानुपातिक तर्फ मतदान गर्न पाउने छन् । अस्थायी मतदान केन्द्रबाट प्रत्यक्ष तर्फ भने मतदान गर्न पाइने छैन । जिल्लामा ७६ मतदान स्थल, १ सय ४० वटा स्थायी तथा २ वटा अस्थायी मतदान केन्द्रहरू रहेका छन् । 

यसैबिच जिल्लामा निर्वाचन सामग्रीहरू तयारी अवस्थामा राखिएको छ । जिल्लामा आवश्यक समानुपातिक र प्रत्यक्ष तर्फको मतपत्र आइसकेको छ भने मत पेटिका लगायतका अन्य निर्वाचन सामग्रीहरू पनि तयारी अवस्थामा राखिएको जिल्ला निर्वाचन अधिकारी केसीले जानकारी गराउनुभयो । 

सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको र पठाउनुपर्ने समय आएमा उक्त सामग्री जिल्ला भरमा पठाइने उहाँले बताउनुभयो । जिल्लामा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ । 

जसमा पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३ सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update