Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निर्वाचन सम्पन्न गर्न ८ सय ४६ जना कर्मचारी खटिने 

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा ८ सय ४६ जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला भरका मतदान केन्द्रहरूमा कर्मचारी खटाएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२ को दफा १७ बमोजिमको जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समितिबाट प्राप्त कर्मचारीहरूको विवरणबाट सोही निर्देशिकाको दफा १० बमोजिम कर्मचारी खटाएको छ । 

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र एक जना सहयोगी खटिने छन् । प्रति मतदान केन्द्र १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी गरी ६ जना कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको जिल्लास्थित पत्रकारहरुसँगको छलफल कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी गराउनुभयो । 

उहाँका अनुसार सुरक्षाकर्मी बाहेक जिल्ला भरमा ८ सय ४६ जना कर्मचारी खटिने छन् । निर्वाचनका लागि खटिने मध्ये मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि १ दिने अभिमुखीकरण सञ्चालन गरिने छ । मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका लागि खटिने कर्मचारीका लागि फागुन १४ गते मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा अभिमुखीकरण हुने छ । 

त्यस्तै आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाका कर्मचारीका लागि फागुन १५ गते मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमै अभिमुखीकरण सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी केसीले जानकारी दिनुभयो । 

यसैबिच जिल्लास्थित पत्रकारहरूसँग निर्वाचनका विषयमा छलफल भएको छ । जस क्रममा निर्वाचनलाई सफल पार्न भइरहेका प्रयास, मिडिया र मिडियाकर्मीको भूमिका, निर्वाचन आचारसंहिता लगायतका विषयमा छलफल भएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update