Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली काँग्रेस रुकुम पश्चिमको प्रतिज्ञा पत्र सार्वजनिक, के छन् एजेन्डा ? 

नेपाली काँग्रेस रुकुम पश्चिमले फागुन २१ गतेको निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । आज पार्टी कार्यालय मुसिकोटमा एक कार्यक्रमको आयोजना गरी नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवार राजु केसी, समानुपातिक उम्मेदवार मानबहादुर नेपाली, पूर्व राज्यमन्त्री गोपालजिजंग शाह, जिल्ला सभापति प्रेमप्रकाश ओली र निर्वाचन परिचालन समितिका संयोजक खड्क डाँगी लगायतले प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएको हो । 

प्रत्यक्ष तर्फका उम्मेदवार केसीले प्रतिज्ञा पत्रमा समावेश मुख्य मुख्य विषय वाचन गरेर सार्वजनिक गर्नुभएको थियो । भने विस्तृतमा निर्वाचन परिचालन समितिका संयोजक खड्क डाँगीले प्रतिज्ञा पत्र वाचन गर्नुभएको थियो । नेपाली काँग्रेस रुकुम पश्चिमले १४ बुँदामा प्रतिज्ञा पत्र तयार पारेको छ । राजनीतिलाई फोहोरी खेल भन्ने भ्रमलाई चिर्ने, राजनीतिक र सार्वजनिक संस्थानहरूको लोकतान्त्रीकरण गर्ने प्रतिज्ञा पत्रमा भनिएको छ । 

जिल्लाको मौलिकतामा आधारित विकास नीति अवलम्बन गर्ने, विकासलाई विपन्न नागरिकको गरिबी निवारण र जनजीविकासँग सिधै जोड्ने, समाजवाद आधारित लोकतान्त्रिक सुशासन लागू गर्ने, विगतका अनियमितताको निष्पक्ष छानबिन गर्ने, देशमा एकै शिक्षा नीति र एकै शिक्षा प्रणाली लागू गर्न पहल गर्ने, विद्यालयमा एआई र डिजिटल लर्निङ प्रविधि भित्र्याउने प्रतिज्ञा पत्रमा उल्लेख छ । 

काँग्रेस उम्मेदवार केसीले निर्वाचित भएको सय दिन भित्र आफ्नो व्यक्तिगत लगानीमा काठमाडौँमा एक जना स्वास्थ्य सहजकर्ताको व्यवस्था मिलाउने र उसले जिल्लाबाट जाने बिरामीहरूलाई अस्पताल भर्ना र उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै किसानलाई आधुनिक उद्यमीको पहिचान दिलाउने, किसानलाई पेन्सन र सामाजिक सुरक्षाको व्यवस्था, जिल्लालाई सुन्तला, आँप, केरा, किवी र कफी खेतीको विशिष्टीकृत पकेट क्षेत्र घोषणा गर्ने उल्लेख छ । 

nc-ghosana-patra-1771915741.jpg
यसका साथै स्यार्पू ताल, बुरालमष्ट मन्दिर र अन्य धार्मिक–प्राकृतिक स्थललाई जोडेर रुकुम पर्यटकीय सर्किट निर्माण गर्ने, जडीबुटीको प्रशोधन गरी रुकुमेली ब्रान्ड निर्यात गर्ने, सडक, शिक्षा, स्वास्थ्य र इन्टरनेट जस्ता सुविधाहरू गाउँमै पुर्‍याएर सहर केन्द्रित बसाइसराइ रोक्ने, भेरी नदीमा निर्माणाधीन पुललाई तत्काल सम्पन्न गर्न पहल गर्ने, केन्द्रीय प्रसारण लाइन वा सौर्य ऊर्जा मार्फत सबै घरमा बिजुली पुर्‍याउने काँग्रेसको प्रतिज्ञा पत्रमा भनिएको छ । 

जिल्लाका आठबिसकोटको राडी, चौरजहारीको चौफा, मुसिकोटको खलङ्गा, त्रिवेणीको झुल्नेटा, सानीभेरीको सिम्ली र बाँफिकोटको छिन्खेतमा स्थानीय र वित्तीय संस्थाहरूको साझेदारीमा आधुनिक ग्रामीण स्टोर निर्माण गर्ने स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारीमा टेवा पुर्‍याउने, एक घर एक धारा, बाह्रै महिना सिँचाइको सुविधा, जिल्लाका मावि र क्याम्पसमा नियमित करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने, रोजगारी सूचना केन्द्रलाई लागु गर्ने, जलाधार संरक्षण लगायतका विषय पनि प्रतिज्ञा पत्रमा समेटिएका छन् । 

उम्मेदवार केसीले संसद्को सम्पर्क कार्यालय जिल्लामै राख्ने घोषणा समेत गर्नुभएको छ । आफू धेरै समय आफ्नो निर्वाचन क्षेत्रमा रहन नसक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लामा विज्ञ सहितको सम्पर्क कार्यालय रहने र त्यसले जिल्लाको आवश्यकता अनुसारका योजना बनाउने उहाँले बताउनुभयो । उक्त कार्यालयमा आफू प्रत्येक महिना भौतिक रूपमै उपस्थित हुने र जिल्लावासीका सुझाव लिने, गुनासा सुन्ने र माग बुझ्ने काम गर्ने उहाँले बताउनुभयो ।

घाेषणा पत्रकाे पूर्ण पाठ 

Nc-rukum-(1)-1771915815.jpg

Nc-rukum-(3)-1771915813.jpg

Nc-rukum-(2)-1771915812.jpg

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update