Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सबै मतदान केन्द्रमा भोली र पर्सी निर्वाचन सामग्री पठाइने 
मतपेटिका र अन्य निर्वाचन सामग्री ।

रुकुम पश्चिममा फागुन २१ गतेको निर्वाचनका लागि मतदान केन्द्रहरूमा आवश्यक सामाग्रीहरू भोली देखि वितरण गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले भोली र पर्सी जिल्ला भरका सबै मतदान केन्द्रहरूका लागि आवश्यक मत पेटिका तथा अन्य निर्वाचन सामग्रीहरू बुझाइने जनाएको छ । 

कार्यालयले निर्वाचन सामग्री बुझ्नका लागि समय तोकेको छ । भोली पहिलो दिन आठबिसकोट नगरपालिका वडा नम्बर १, २ र ३ नम्बर वडामा रहेका मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण हुने जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो । 

पर्सी १८ गते बाँकी अन्य मतदान केन्द्रहरूका लागि निर्वाचन सामग्री प्रदान गरिने छ । जसका लागि मतदान केन्द्र अनुसार फरक फरक समय तोकिएको केसीले बताउनुभयो । उहाँका अनुसार बिहान ७ बजेदेखि ८ बजेसम्म आठबिसकोट नगरपालिका वडा नम्बर ४ देखि १४ सम्मका मतदान केन्द्रहरूका लागि सामग्री प्रदान गरिने छ । 

बिहान ८ बजेदेखि ९ बजेसम्म चौरजहारी नगरपालिकाका सबै मतदान केन्द्रहरू, बिहान ९ बजेदेखि १० बजेसम्म बाँफिकोट गाउँपालिकाका सबै मतदान केन्द्रहरू, बिहान १० बजेदेखि ११ बजेसम्म सानीभेरी गाउँपालिकाका सबै मतदान केन्द्रहरू र बिहान ११ बजे देखि मध्यान्ह १२ बजेसम्म त्रिवेणी गाउँपालिकाका सबै मतदान केन्द्रहरूका लागि निर्वाचन सामग्री वितरण हुने छ । 

त्यस्तै मुसिकोट नगरपालिकाका सबै मतदान केन्द्रहरूका लागि मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन सामग्री प्रदान गर्ने जिल्ला निर्वाचन अधिकारी केसीले जानकारी गराउनुभयो । तोकिएको समयमा कार्यालयमा पुगी मत पेटिका तथा अन्य आवश्यक सबै निर्वाचन सामग्री बुझ्न उहाँले सबै मतदान अधिकृतहरूलाई आग्रह गर्नुभयो । 

सबैलाई एकै पटक निर्वाचन सामग्री वितरण गर्दा असहज हुने भएकोले समय तोकेर निर्वाचन सामग्री वितरणको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update