फागुन २१ गतेको निर्वाचनका लागि रुकुम पश्चिममा खटिने कर्मचारीहरूका लागि अभिमुखीकरण सम्पन्न भएको छ । फागुन १४ र १५ गते २ दिन दुई चरणमा अभिमुखीकरण सम्पन्न भएको हो । जिल्लाभरमा ८ सय ४६ जना कर्मचारी खटिन लागेकामा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण सञ्चालन गरिएको हो ।
अभिमुखीकरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृत रहेका थिए । १ सय ४० स्थायी मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र गरी १ सय ४२ मतदान केन्द्रका २ सय ८४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सफल पार्नका लागि अभिमुखीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो ।
उनीहरूलाई मतदान पूर्वको व्यवस्थापकीय पक्ष र मतदान प्रक्रिया, अनुसूची फारम सम्बन्धी तालिमका साथै प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्बन्धी कानुनी र अन्य विविध पक्षका बारेमा जानकारी गराइएको थियो । त्यस्तै नमुना मतदान समेत सञ्चालन गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापा मगर र प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन सफल पार्न निर्देशन दिनुभएको थियो । त्यस्तै सहायक निर्वाचन अधिकृत मन्दिरा शाही, जिल्ला न्यायाधीवक्ता हरिप्रसाद घिमिरे, कोष नियन्त्रक गोविन्दप्रसाद सुवेदी र जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले कर्मचारीहरूलाई अभिमुखीकरण गर्नुभएको थियो ।
मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका लागि खटिने कर्मचारीका लागि फागुन १४ गते तथा आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाका कर्मचारीका लागि फागुन १५ गते मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा अभिमुखीकरण सञ्चालन भएको हो ।
जिल्लामा ७६ मतदान स्थल रहेकामा १ सय ४० स्थायी र २ अस्थायी गरी १ सय ४२ वटा मतदान केन्द्रहरू रहेका छन् । जिल्लामा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३ सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।





-1759842583.jpg)