रुकुम पश्चिममा निर्वाचन सामग्री वितरण सुरु भएको छ । फागुन २१ गतेको निर्वाचनका लागि मतदान केन्द्रहरूमा आवश्यक मत पेटिका लगायतका सामाग्रीहरू आज देखि वितरण सुरु गरिएको हो । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले भोलीसम्म जिल्लाका सबै मतदान केन्द्रका लागि आवश्यक सामग्री वितरण भइसक्ने जानकारी दिएको छ ।
कार्यालयले निर्वाचन सामग्री बुझ्नका लागि समय तोकेको छ । आज पहिलो दिन आठबिसकोट नगरपालिका वडा नम्बर १, २ र ३ नम्बर वडामा रहेका मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण गरिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो ।
भोली १८ गते बाँकी अन्य मतदान केन्द्रहरूका लागि निर्वाचन सामग्री प्रदान गरिने छ । जसका लागि मतदान केन्द्र अनुसार फरक फरक समय तोकिएको केसीले बताउनुभयो । उहाँका अनुसार बिहान ७ बजेदेखि ८ बजेसम्म आठबिसकोट नगरपालिका वडा नम्बर ४ देखि १४ सम्मका मतदान केन्द्रहरूका लागि सामग्री प्रदान गरिने छ ।
बिहान ८ बजेदेखि ९ बजेसम्म चौरजहारी नगरपालिकाका सबै मतदान केन्द्रहरू, बिहान ९ बजेदेखि १० बजेसम्म बाँफिकोट गाउँपालिकाका सबै मतदान केन्द्रहरू, बिहान १० बजेदेखि ११ बजेसम्म सानीभेरी गाउँपालिकाका सबै मतदान केन्द्रहरू र बिहान ११ बजे देखि मध्यान्ह १२ बजेसम्म त्रिवेणी गाउँपालिकाका सबै मतदान केन्द्रहरूका लागि निर्वाचन सामग्री वितरण हुने छ ।
त्यस्तै मुसिकोट नगरपालिकाका सबै मतदान केन्द्रहरूका लागि मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन सामग्री प्रदान गर्ने जिल्ला निर्वाचन अधिकारी केसीले जानकारी गराउनुभयो । तोकिएको समयमा कार्यालयमा पुगी मत पेटिका तथा अन्य आवश्यक सबै निर्वाचन सामग्री बुझ्न उहाँले सबै मतदान अधिकृतहरूलाई आग्रह गर्नुभयो ।
सबैलाई एकै पटक निर्वाचन सामग्री वितरण गर्दा असहज हुने भएकोले समय तोकेर निर्वाचन सामग्री वितरणको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्लामा ७६ मतदान स्थल रहेकामा १ सय ४० स्थायी र २ अस्थायी गरी १ सय ४२ वटा मतदान केन्द्रहरू रहेका छन् । जिल्लामा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३ सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।





-1759842583.jpg)