Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सबै केन्द्रमा निर्वाचन सामग्री पठाइयो

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा सबै मतदान अधिकृतले निर्वाचन सामग्री बुझेका छन् । जिल्लाका ७६ मतदान स्थलका १ सय ४० स्थायी र २ वटा अस्थायी मतदान केन्द्रका मतदान अधिकृतहरूले निर्वाचनका लागि आवश्यक मतपत्र, मत पेटिका लगायतका सबै सामग्रीहरू बुझेका हुन् । 

जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका, स्वस्तिक छाप लगायतका सबै आवश्यक सामग्रीहरू वितरण गरिएको हो । भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट वितरण भएको हो । हिजो र आज गरी सबै मतदान अधिकृतलाई आवश्यक निर्वाचन सामग्री वितरण गरिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हिजो सदरमुकामदेखि टाढाको दुरीमा रहेको आठबिसकोट नगरपालिका वडा नम्बर १, २ र ३ का मतदान केन्द्रका लागि निर्वाचन सामग्री र मतपत्र पठाइएको थियो । आज बाँकी रहेका ठाउँका लागि निर्वाचन सामग्री पठाइएको उहाँले बताउनुभयो । 

बिहान ७ बजेबाट नै मतपेटिका लगायतका निर्वाचन सामग्री वितरण भएको जिल्ला निर्वाचन अधिकारी केसीले जानकारी दिनुभयो । निर्वाचन सामग्री सहित धेरै मतदान केन्द्रहरूमा कर्मचारी पुगिसकेको र साँझसम्ममा सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री पुगिसक्ने उहाँको भनाई छ । 

निर्वाचन सामग्री वितरणका लागि पालिका अनुसार समय तोकिएको थियो । एकै पटक सबैलाई वितरण गर्दा भिडभाड हुने हुँदा समय तोकेर निर्वाचन सामग्रीहरू वितरण भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचन सामग्री सहित मतपत्र पनि पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले मतदान केन्द्रका लागि आवश्यक मतपत्र पठाइसकिएको बताउनुभयो । मतदाता संख्या अनुसार सबै मतदान केन्द्रका लागि मतपत्र वितरण गरिएको उहाँको भनाई छ । 

मतपत्र पनि हिजोबाट नै वितरण सुरु भएको थियो । अधिकांश मतदान केन्द्रका लागि भने आज बिहानैबाट मतपत्र वितरण सुरु गरिएको उहाँले बताउनुभयो । सुरक्षाकर्मी सहितको कर्मचारीको टोली मतदान केन्द्रतर्फ गइरहेको र अधिकांश मतदान केन्द्रमा टोली पुगिसकेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । 

अब कर्मचारीहरूले मतदान केन्द्रहरूमा मतदान अघिको व्यवस्थापन मिलाउने छन् । सबै व्यवस्था मिलाएर कर्मचारी तथा सुरक्षाकर्मीहरूले मतदानका लागि तयारी अवस्थामा राख्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्लामा ७६ मतदान स्थल रहेकामा १ सय ४० स्थायी र २ अस्थायी गरी १ सय ४२ वटा मतदान केन्द्रहरू रहेका छन् । जिल्लामा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३ सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update