प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिमका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री पुगेका छन् । आइतबार र सोमबार जिल्ला सदरमुकाममा रहेको जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री मतदान अधिकृतहरूलाई वितरण गरिएको थियो ।
उक्त सामग्रीहरू सोमबार साँझ नै जिल्लाका सबै मतदान केन्द्रहरूमा सुरक्षित पुगेको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । जिल्लाभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्वक सुरक्षित रूपमा निर्वाचन सामग्रीहरू पुर्याइएको उहाँले बताउनुभयो । मतदान, अधिकृत, सहायक मतदान अधिकृत सहितका कर्मचारी र सुरक्षाकर्मीको टोलीले निर्वाचन सामग्री सम्बन्धित ठाउँमा पुर्याएको हो ।
अहिले मतदान केन्द्रहरूमा मतदान पूर्वको व्यवस्थापन चलिरहेको सहायक निर्वाचन अधिकृत शाहीले बताउनुभयो । शान्तिपूर्वक रूपमा मतदान केन्द्रहरूमा व्यवस्थापनको काम भइरहेको उहाँको भनाई छ । मतदान स्थलमा सर्वदलीय बैठकहरू पनि सम्पन्न भएका छन् । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै मतदान स्थलमा सर्वदलीय बैठक सम्पन्न भएको बताइएको छ ।
जिल्लामा ७६ मतदान स्थल रहेकामा १ सय ४० स्थायी र २ वटा अस्थायी मतदान केन्द्रहरू तोकिएका छन् ।
यसैबिच मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना स्थल तयार पारिएको छ । सहायक निर्वाचन अधिकृत शाहीले अव मतदानको तयारी लगभग अन्तिम चरणमा पुगेको र मतदान केन्द्रमा मतदानका लागि व्यवस्थापनको काम भइरहेको र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना स्थल तयारी अवस्थामा राखिएको बताउनुभयो ।
त्यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रहरूको निरीक्षण समेत गरिरहेको उहाँले बताउनुभयो । मतदान केन्द्रहरूको समग्र व्यवस्थापन, सुरक्षा व्यवस्था लगायतका विषयमा निरीक्षण भइरहेको उहाँले बताउनुभयो । जिल्लामा ७६ मतदान स्थल रहेकामा १ सय ४० स्थायी र २ अस्थायी गरी १ सय ४२ वटा मतदान केन्द्रहरू रहेका छन् ।





-1759842583.jpg)