Kakhara सबैको खबर सम्पूर्ण खबर
मौन अवधि र मतदानको दिन आचारसंहिता पूर्ण पालना गर्न अनुरोध

रुकुम पश्चिमका सबै पक्षलाई निर्वाचनको मौन अवधि र मतदानको दिन निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं कोष नियन्त्रक गोविन्दप्रसाद सुवेदी र निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले एक सूचना जारी गर्दै आचारसंहिता पूर्ण पालना गर्न अनुरोध गर्नुभएको हो । 

जिल्लाका राजनीतिक दल, दलका भातृ सङ्गठन, सरकारी कार्यालय, सार्वजनिक निकाय, गैर सरकारी निकाय, नागरिक समाज, कर्मचारी, शिक्षक, पत्रकार तथा आम सर्वसाधारण नागरिकले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन हालसम्म खेलेको भूमिकाप्रति धन्यवाद दिँदै अब मतदान कार्य सम्पन्न हुँदासम्म पनि आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरिएको छ । 

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म र मतदानको दिन पालना गर्नुपर्ने आचरणका बारेमा सूचना मार्फत स्मरण गराइएको छ । अहिले चलिरहेको मौन अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्न, मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउन भनिएको छ । 

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने आचारसंहिताको बारेमा पनि स्मरण गराइएको छ ।  

त्यस्तै मतदानको दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज लगाउन नपाइने, दल वा उम्मेदवारलाई चिनाउने एकै किसिमको साङ्केतिक पोसाक र चीज वस्तु लगाउन, बोक्न वा देखाउन नपाइने, कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउन नपाइने स्पष्ट पारिएको छ । 

तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक जस्ता मतदाताको लागि निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न भने कुनै वाधा गरिएको छैन ।

साथै मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने पनि सूचना मार्फत जानकारी गराइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update