पर्सी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा सुरक्षा अवस्थाको निरन्तर अनुगमन भइरहेको छ । मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री सहित जिल्लाका सबै मतदान केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मीहरूको टोली परिचालन भइसकेको अवस्थामा जिल्लाभरको सुरक्षा अवस्थाबारे अनुगमन भइरहेको हो ।
निर्वाचन सुरक्षाको अनुगमनका लागि उपसचिवहरूको नेतृत्वमा ६ वटै पालिकामा घुम्ती सुरक्षा अनुगमन टोली परिचालन गरिएको छ भने जिल्ला सुरक्षा समितिले पनि अनुगमन गरिरहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो ।
निर्वाचन सामग्रीका साथ कर्मचारी सहित सुरक्षाकर्मीको टोली सबै मतदान केन्द्रमा परिचालन भएको अवस्थामा त्यहाँको समग्र सुरक्षा अवस्था कस्तो छ, सुधारका पक्षहरू र समग्रमा सुरक्षा व्यवस्थालाई चुस्त पार्ने गरी निर्वाचन सुरक्षा अनुगमन भइरहेको उहाँले बताउनुभयो ।
घुम्ती टोलीले आज, भोली र पर्सी जिल्लाका सबै मतदान केन्द्रहरूमा अनुगमन गर्ने छ भने आवश्यक परेको अवस्थामा जिल्ला सुरक्षा समितिले पनि अनुगमन गर्ने उहाँले बताउनुभयो । यसैबिच जिल्लाका सबै मतदान केन्द्रहरूमा आवश्यक सुरक्षा व्यवस्था कडा परिएको प्रमुख जिल्ला अधिकारी थानीले बताउनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा निर्वाचन प्रहरी सहितको टोली परिचालन भइसकेको र सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था चुस्त पारिएको उहाँको भनाई छ । निर्वाचनलाई सफल पार्नका लागि जिल्लाका तीन ठाउँ मुसिकोट, चौरजहारी र आठबिसकोटमा नेपाली सेनाको सुरक्षा बेस छ भने सानीभेरीको सिम्लीमा सशस्त्र प्रहरीको निर्वाचन क्षेत्र सुरक्षा बेस रहेको उहाँले बताउनुभयो ।
त्यस्तै निर्वाचन सुरक्षाको सूक्ष्म निगरानीका लागि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सहितको टोली परिचालित रहेको उहाँले बताउनुभयो । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्नका लागि जिल्लामा सुरक्षा व्यवस्था सहित अन्य व्यवस्थापनको पाटोमा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो ।
जिल्लाका मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरिएको छ । सोही अनुसार सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ थानीले बताउनुभयो ।
जिल्लामा ७६ मतदान स्थल रहेकामा १ सय ४० स्थायी र २ अस्थायी गरी १ सय ४२ वटा मतदान केन्द्रहरू रहेका छन् । जिल्लामा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३ सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।





-1759842583.jpg)