Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निर्वाचन तयारी पूरा 

भोली हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रुकुम पश्चिममा पूरा भएको छ । सबै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी परिचालन, निर्वाचन सामग्री पुर्‍याउने देखि मतदान केन्द्रको व्यवस्थापन तथा मतगणना स्थल निर्माण लगायतका सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जिल्लाभरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । कर्मचारी तथा सुरक्षाकर्मी पुगेर मतदान स्थलमा व्यवस्थापनको काम देखि जिल्लामा मतगणना स्थल तयारी पुर्नेसम्मका सबै काम पुरा भएको उहाँले बताउनुभयो । मतपत्र सहित मतदानका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पनि सबै मतदान स्थलहरूमा पुगिसकेको उहाँले बताउनुभयो ।

आफ्नो मतदान केन्द्रमा पुगेर ढुक्कले मतदान गर्न उहाँले जिल्लावासीमा अनुरोध गर्नुभएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष दिनेशप्रसाद थानीले निर्वाचनलाई लक्षित गरेर सम्पूर्ण सुरक्षा व्यवस्थापनको काम पूरा भएको बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी प्रत्येक मतदान स्थलमा पुगेर खटिसकेको उहाँले बताउनुभयो । 

सुरक्षाका हिसाबले जिल्लामा सम्पूर्ण तयारी पूरा भएको र जिल्लाभरको सुरक्षा अवस्था सामान्य रहेको उहाँले जानकारी गराउनुभयो । उहाँले पनि जिल्लावासीलाई ढुक्क भएर आ आफ्नो मतदान केन्द्रहरूमा पुगेर शान्तिपूर्ण रूपमा मत हाल्न आग्रह गर्नुभएको छ ।

जिल्लाका तीन ठाउँ मुसिकोट, चौरजहारी र आठबिसकोटमा नेपाली सेनाको सुरक्षा बेस रहेको छ । सानीभेरी गाउँपालिकाको सिम्लीमा सशस्त्र प्रहरीको निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गरिएको छ । निर्वाचन सुरक्षाको सूक्ष्म निगरानीका लागि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सहितको टोली परिचालित रहेको प्रमुख जिल्ला अधिकारी थानीले जानकारी गराउनुभयो । त्यस्तै ९ सय ४९ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ । 

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्नका लागि जिल्लामा सुरक्षा व्यवस्था सहित अन्य व्यवस्थापनको पाटोमा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो । जिल्लाका मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरिएको छ । सोही अनुसार सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ थानीले बताउनुभयो । 

जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले पनि कार्यालयबाट हुनुपर्ने सबै तयारी पूरा भएको बताउनुभयो । मतपेटिका लगायतका निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेको र मतदान केन्द्रहरू मतदानका लागि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले सबै मतदातालाई निर्वाचनमा सामेल हुन अनुरोध गर्नुभयो । 

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकालाई नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र लगायतका कागजातको आधारमा पनि मतदान गर्न पाउने उहाँले जानकारी गराउनुभयो । 

रुकुम पश्चिमका ६ स्थानीय तहमा ७६ मतदान स्थल रहेका छन् भने १ सय ४० स्थायी र २ अस्थायी गरी १ सय ४२ वटा मतदान केन्द्रहरू रहेका छन् । जिल्लामा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३ सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update