Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ६२ हजार ९ सय ६८ मत खस्यो 

रुकुम पश्चिममा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान जिल्ला भरमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विना कुनै रोकतोक शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । 

६ वटा स्थानीय तहका सबै ७६ मतदान स्थल र १ सय ४० स्थायी तथा २ अस्थायी मतदान केन्द्रमा बिहान ७ बजेबाटै निर्वाचन सुरु भएको र बेलुकी ५ बजे सम्पन्न भएको उहाँले बताउनुभयो । जिल्लामा ५९.०३ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेकामा जिल्लामा ६२ हजार ९ सय ६८ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार जसमा महिला ३४ हजार ६ सय ४ र पुरुष २८ हजार ३ सय ६४ जना रहेका छन् । 

मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलनको काम सुरु भइसकेको छ । जिल्ला कारागार र खलङ्गाको बराहटाकुरामा रहेको अस्थायी मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको सहायक निर्वाचन अधिकृत शाहीको भनाई छ । अन्य ठाउँबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर मत पेटिका सङ्कलनको काम हुन लागेको शाहीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update