Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा मतान्तर बढाउँदै गोपाल शर्मा 

रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बढाइरहनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मालाई ३ हजार ७ सय २६ मतले पछि पार्नुभएको छ । उहाँले १२ हजार ९ सय ८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी  जनार्दन शर्माले ९ हजार २ सय ६० मत प्राप्त गर्नुभएको छ ।

आठबिसकोट नगरपालिकामा जनार्दन शर्माले झिनो मतान्तर कायम गर्नुभएको थियो । तर बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा गोपाल शर्माले उक्त मतान्तरलाई उल्टाउँदै मतान्तर बढाउनुभएको हो । सानीभेरी गाउँपालिकामा हालसम्म गणना गरिएको मतमा पनि शर्माले मतान्तर बढाउनुभएको छ ।

सानीभेरी गाउँपालिकाको बाँकी मत गणना भइरहेको छ । अब यसपछि जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको मत गणना गर्न बाँकी रहेको छ । नेपाली काँग्रेसका राजु केसीले ८ हजार ६ सय ६९ मत पाउनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मानबहादुर शाहीले २ हजार ८० मत प्राप्त गर्नुभएको छ ।

आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै जनार्दन शर्मालाई समर्थन गर्नुभएका नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १ हजार १ सय ६३ मत पाउनुभएको छ । अहिलेसम्म ३६ हजार ५ सय १३ मत गणना भएको छ । जिल्लामा ६२ हजार ९ सय ६८ मत खसेको थियो । अब २६ हजार ४ सय ५५ मत गणना गर्न बाँकी रहेको छ । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update