रुकुम पश्चिममा झन्डै ५ प्रतिशत मत बदर भएको छ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लामा कुल खसेको मतमा ४.८२ प्रतिशत मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको जानकारी अनुसार जिल्लामा कुल ६२ हजार ५ सय ३९ मत खसेको थियो ।
जसमा ३ हजार १६ मत बदर भएको थियो । यो भनेको कुल मतको ४.८२ प्रतिशत रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५९ हजार ५ सय २३ मत भने सदर भएको छ । कुल मतको ९५.१७ प्रतिशत मत सदर भएको हो । जिल्लामा कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेकामा ६२ हजार ५ सय ३९ अर्थात् ५८.६३ प्रतिशत मत खसेको थियो ।
धेरै जसो मत बदर एक भन्दा बढी निर्वाचन चिन्हमा छाप लगाउनु, मसी लतपतिनु लगायत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पटक जिल्लामा अन्तिम उम्मेदवारी कायम भइसकेको अवस्थामा दलहरूका बिचमा चुनावी तालमेल भएका कारण पनि मत बदर धेरै देखिएको छ ।
विशेष गरी नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीका बिचमा एमालेले प्रलोपालाई सघाउने गरी ढिलो गरी चुनावी तालमेल भएको तर एमालेको पनि निर्वाचन चिन्ह कायम भएका कारण दुवै दलका चिन्हमा मत हालेका कारण पनि मत बदर बढेको देखिएको छ ।





-1759842583.jpg)