Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा समानुपातिक तर्फ पनि नेकपा पहिलो, रास्वपा तेस्रो 

रुकुम पश्चिममा फागुन २१ गते भएको निर्वाचनको मतगणना सकिएको छ । प्रत्यक्ष तर्फ शनिवार राती मतगणना सकिएकामा समानुपातिक तर्फको आज सोमबार गणना सकिएको हो । हिजो बिहानबाट जिल्लामा समानुपातिक तर्फको मतगणना सुरु भएको थियो । जिल्लामा समानुपातिक तर्फ पनि नेपाली कम्युनिस्ट पार्टी पहिलो भएको छ ।

प्रत्यक्ष तर्फ पनि विजयी हासिल गरेको नेकपाले समानुपातिक तर्फ पनि जिल्लामा सबैभन्दा बढी मत प्राप्त गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपाले २० हजार ३६ मत प्राप्त गरेको छ । नेकपाले प्रत्यक्षको तुलनामा समानुपातिक तर्फ भने केही कम मत प्राप्त गरेको छ । उसका उम्मेदवार गोपाल शर्माले प्रत्यक्ष तर्फ २१ हजार ६ सय ९ मत पाउनुभएको थियो ।

नेपाली काँग्रेस समानुपातिक तर्फ पनि जिल्लामा दोस्रो भएको छ । उसले १५ हजार १ सय ८१ मत प्राप्त गरेको छ । जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ । प्रत्यक्ष तर्फ ४ हजार ७६ मत पाएको रास्वपाले समानुपातिक तर्फ भने १० हजार १ सय ४९ मत प्राप्त गरेको हो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले ७ हजार २ सय ७, नेकपा एमालेले ५ हजार ८ सय ७४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सय ७८, नेकपा माओवादीले ३ सय ९९ मत प्राप्त गरेको छ । जिल्लामा अस्तित्वमै नरहेका दलले पनि रुकुम पश्चिमबाट समानुपातिक तर्फ मत प्राप्त गरेको छ । त्यसमध्येमा हर्क साम्पाङको श्रम संस्कृति पार्टीले २ सय ३२ मत प्राप्त गरेको छ ।

नेपाल जनता संरक्षण पार्टीले १ सय ५४, सार्वभौम नागरिक पार्टीले १ सय ३५, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १ सय २, जनमत पार्टीले ९२, आम जनता पार्टी/जनादेश पार्टी नेपालले ७० र जनता समाजवादी पार्टी नेपालले ५६ मत पाएका छ । रुकुम पश्चिममा कुल ५७ दलले समानुपातिक तर्फ मत पाएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update