रुकुम पूर्वमा नेपाली काँग्रेसका तर्फबाट फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन लड्नुभएकी कुसुमदेवी थापाले निर्वाचन खर्च विवरण बुझाउनुभएको छ । उहाँले जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वमा निर्वाचन खर्चको विवरण बुझाउनुभएको हो ।
उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार आफ्नो चुनावी खर्च विवरण बुझाउनुभएको छ । उहाँले खर्च विवरण अनुसार उहाँको निर्वाचन खर्च १७ लाख १९ हजार ७ सय ८२ रुपैयाँ ७४ पैसा रहेको छ । उहाँले बुझाएको खर्च विवरणमा निर्वाचन खर्च गरेको बैङ्क खाता समेत उल्लेख गर्नुभएको छ ।
उहाँले प्रचार प्रसारको गाडीमा ८ लाख ८५ हजार, डिजेल ७ सय लिटरको १ लाख १४ हजार ७ सय ४३, प्रेस, पर्चा, पम्प्लेट, ब्यानर, झन्डा तथा घोषणा पत्रमा ४ लाख ८० हजार, मनोनयन दर्तामा ५ हजार ३०, खाना र कोठामा २ लाख २२ हजार २ सय ७०, छापाखानामा २८ हजार, डिजेलमा ७ हजार ४०.७४ र नमुना मतपत्र छपाइमा २ हजार ५ सय खर्च गरेको उल्लेख गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।
रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित बनेकामा नेपाली काँग्रेसकी उम्मेदवार थापा तेस्रो हुनुभएको थियो ।





-1759842583.jpg)