Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रशासनले निर्वाचन सफल पार्ने सबैलाई धन्यवाद दियो 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ । प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने जिल्लास्थित सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको हो । 

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते मतदान गर्ने कार्य सम्पन्न भई प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना समेत सम्पन्न गरी नतिजा सार्वजनिक भइसकेकोमा यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गराउन अहम् भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जिल्ला सुरक्षा समिति एवं जिल्ला निर्वाचन सुरक्षा समितिका सदस्यहरू, जिल्ला कमान्ड पोस्ट तथा निर्वाचन सेलका पदाधिकारीहरू, निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू, निर्वाचन सुरक्षा अनुगमन टोलीका प्रमुखहरू, मतदान अधिकृत र सहायक मतदान अधिकृतका साथै मतदान केन्द्रमा खटिएका राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 

त्यस्तै निर्वाचन पर्यवेक्षक, निर्वाचनमा भाग लिएका उम्मेदवारहरू तथा राजनीतिक दल र निर्वाचन प्रयोजनका लागि तोकिएका फोकल पर्सन, स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा जनप्रतिनिधिहरू, नागरिक समाज, पत्रकार तथा सञ्चारकर्मी, यातायात व्यवसायी लगायत यस रुकुम (पश्चिम भाग) जिल्लाका सम्पूर्ण मतदाता लगायत जिल्लावासीमा समेत उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । 

जिल्लामा फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म शान्तिपूर्ण वातावरणमा मतदान भएको थियो । सबै मतदान स्थलबाट सोही मध्यरातसम्म सुरक्षित रूपमा मतपेटिका सङ्कलन गरिएको थियो । फागुन २२ गते बिहान १० बजेबाट मतगणना सुरु भएकामा प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । 

Thanks-letter-1773225427.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update