फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वमा उम्मेदवार बनेका ८ जनाको धरौटी जफत भएको छ । जमानत जोगाउन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर सदर मत १८ हजार २ सय ४६ को १० प्रतिशत अर्थात् १ हजार ८ सय २४ मत नल्याउने ८ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धरौटी जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका लखनकुमार थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुन, नेकपा माओवादीका जुद्धबहादुर बुढामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाह, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योति रोका मगर, नेशनल रिपब्लिक नेपालका धर्मकुमार बुढा, राष्ट्रिय जनमोर्चाका चन्द्रप्रसाद शाही र जनता समाजवादी पार्टीका सिरबहादुर बुढामगर रहनुभएको छ ।
रास्वपाका लखनकुमारले ८ सय १९, प्रलोपाका सन्दीपले २ सय ३, माओवादीका जुद्धबहादुरले १ सय ९१, राप्रपाका रोशनले ८२, मङ्गोल नेशनल अर्गनाइजेसनकी ज्योतिले ५५, नेशनल रिपब्लिक नेपालका धर्मकुमारले ५१, राष्ट्रिय जनमोर्चाका चन्द्रप्रसादले ३२ र जसपाका सिरबहादुरले ३० मत प्राप्त गरेको निर्वाचन आयोगको मतगणना विवरणमा उल्लेख छ ।
रुकुम पूर्वमा कुल १२ दलको प्रतिस्पर्धा रहेकामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १० हजार २ सय ४० मत पाएर विजयी हुनुभएको थियो । रुकुम पूर्वमा उहाँ सहित दोस्रो हुने नेकपा एमालेका लिलामणी गौतम र तेस्रो हुने नेपाली काँग्रेसकी कुसुमदेवी थापाको मात्र जमानत जोगिएको छ ।
गौतमले ३ हजार ४ सय ६२ र थापाले ३ हजार ८१ मत पाउनुभयो । निर्वाचन ऐनको दफा ७) (१) अनुसार प्रत्यक्ष निर्वाचनमा सहभागी उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा (२) मा महिला र दलित वा अल्पसङ्ख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।
रुकुम पूर्वमा कुल मतदाता सङ्ख्या ३४ हजार ७ सय ७२ रहेकामा त्यसको ५४.०९ प्रतिशत अर्थात् १८ हजार ८ सय ९ मत खसेको थियो । जसमा बदर मत निकै कम देखिएको छ । जिल्लामा जम्मा २.९९ प्रतिशत अर्थात् ५ सय ६३ मत मात्र बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






-1759842583.jpg)