फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा नियुक्त भएका निर्वाचन प्रहरीको बिदाइ गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी तर्फ भर्ना गरिएका सबै निर्वाचन प्रहरीहरूको बिदाइ गरिएको हो । रुकुम पश्चिममा कुल ९ सय ४९ जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरी तर्फ ८ सय ५३ जना र सशस्त्र प्रहरी तर्फ ९६ जना निर्वाचन प्रहरी भर्ना भएका थिए ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले आ–आफ्नो कार्यालयमा छुट्टा छुट्टै कार्यक्रम गरेर निर्वाचन प्रहरीहरूलाई बिदाइ गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले मुसिकोट खलङ्गास्थित कार्यालय परिसरमा बिदाइ कार्यक्रम गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
एक औपचारिक कार्यक्रमको आयोजना गरी सबै ८ सय ५३ जना निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको उहाँले बताउनुभयो । निर्वाचन प्रहरीहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र दिएर बिदाइ गरिएको उहाँको भनाई छ । निर्वाचन प्रहरीले निर्वाचन सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै उक्त योगदानका लागि धन्यवाद सहित उनीहरूलाई बिदाइ गरिएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।
साथै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो । त्यस्तै सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले कार्यालय परिसर मुसिकोट १ मठमा एक औपचारिक कार्यक्रमका बिच निर्वाचन प्रहरीको बिदाइ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माका अनुसार निर्वाचन प्रहरी सबै ९६ जनालाई टिका, पुष्पगुच्छा सहित धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र सहित बिदाइ गरिएको हो ।
केक समेत काटिएको थियो । त्यस्तै निर्वाचन प्रहरीलाई सबै सेवा सुविधा उपलब्ध समेत गराइएको उहाँले बताउनुभयो । सरकारले निर्वाचन प्रहरीका लागि विभिन्न शीर्षकमा व्यवस्था गरेको सेवा सुविधा सहित बिदाइ गरिएको उहाँले बताउनुभयो । जिल्लामा पनि ४० दिनमा निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । कार्यक्रममा गुल्म पति सशस्त्र प्रहरी नायब उपरीक्षक जगगदिशचन्द्र हमालको प्रमुख आतिथ्यता रहेको थियो ।
फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै माघ १८ गते निर्वाचन प्रहरी भर्ना गरिएको थियो । सरकारले तोके अनुसार ४० दिनपछि उनीहरूलाई आज बिदाइ गरिएको हो । यसअघिका निर्वाचनमा म्यादी प्रहरीका नाममा भर्ना गर्ने गरिए पनि यस पटक भने सरकारले निर्वाचन प्रहरी नाम दिएको हो ।
यसअघि प्रहरीमा मात्र भर्ना गर्ने गरिएकामा पहिलो पटक सशस्त्र प्रहरीले समेत यस पटक निर्वाचन प्रहरी परिचालन गरेको हो ।





-1759842583.jpg)