Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वका नेकपा एमाले उम्मेदवार गौतमको निर्वाचन खर्च ५ लाख १५ हजार 

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका रुकुम पूर्व उम्मेदवार लीलामणि गौतमले ५ लाख १५ हजार मात्र खर्च गर्नुभएको छ । गौतमले आज खर्च विवरण जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वमा बुझाउनुभएको छ । उक्त खर्च विवरणमा उहाँले ५ लाख १५ हजार खर्च भएको उल्लेख गर्नुभएको छ । 

गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन खर्च विवरण बुझाउनुभएको हो । 

उक्त खर्च विवरण अनुसार उहाँले उम्मेदवारी शुल्कमा १० हजार, सवारी साधन भाडामा ७५ हजार, सवारी साधन इन्धनमा ९० हजार ३ सय ७५, घोषणा पत्र, नमुना मत पत्र, स्टिकर ब्यानर, स्वस्तिक छाप, झन्डा लगायतका निर्वाचन सामग्रीमा २ लाख ३५ हजार ७ सय, प्रचारप्रसारमा ३८ हजार र खाना, खाजा तथा बासमा ६५ हजार ९ सय २५ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । 

उक्त खर्च निर्वाचन प्रयोजनका लागि खोलिएको बैङ्क खाता मार्फत खर्च गरेको उहाँले जानकारी गराउनुभएको छ । नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको यस जिल्लामा एमालेका गौतम दोस्रो हुनुभएको थियो । तेस्रो हुनुभएकी नेपाली काँग्रेसकी कुसुमदेवी थापाले पनि खर्च विवरण बुझाइसक्नुभएको छ । उहाँको निर्वाचन खर्च १७ लाख १९ हजार ७ सय ८२ रुपैयाँ रहेको छ । 

रुकुम पूर्व अधिकतम २७ लाख रुपैयाँ खर्च गर्न पाउने जिल्लामा परेको थियो । निर्वाचन आयोगले जिल्लाहरूलाई वर्गीकरण गर्दै अधिकतम २५ लाख देखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update