फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पुर्वबाट निर्वाचित हुनुभएका नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ लाख पाँच रुपैयाँ खर्च गर्नुभएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वमा बुझाएकाे खर्च विवरणमा १८ लाख ५ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । मदानको दिन प्रयोग गरिएको हेलिकोप्टरको खर्च विवरणको अभिलेख अनुमति अनुसार छुट्टै राखिएको उल्लेख गरिएको छ ।
दाहालले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन खर्च विवरण बुझाउनुभएको हो । उक्त खर्च विवरण अनुसार सवैभन्दा बढी मतपत्र, प्रतिवद्धता, घोषणा पत्र छपाईमा ६ लाख १२ हजार ३ सय ८० रुपैयाँ खर्च भएको छ । त्यस्तै इन्धन खर्च ३ लाख ६७ हजार ७ सय ७५, गाडीमा २ लाख ८४ हजार, होटेल, आवास खाना नास्तामा २ लाख ७५ हजार ९ सय १५, कार्यालय संचालन साम्रगीमा १ लाख ५२ हजार ८५, रेडियो पुर्व रुकुमलाई ४७ हजार ७ सय ५०, साउण्ड स्टिममा ३६ हजार ५ सय, पानीमा १३ हजार ६ सय र मनोनयन दर्तामा १० हजार गरेर कुल १८ लाख ५ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।
उक्त खर्च निर्वाचन प्रयोजनका लागि खोलिएको बैङ्क खाता मार्फत खर्च गरेको उहाँले जानकारी गराउनुभएको छ । नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री दाहाल निर्वाचित भएको रुकुम पूर्वमा दोस्रो हुनुभएका नेकपा (एमाले)का लिलामुणि गौतम र तेस्रो हुनुभएकी नेपाली काँग्रेसकी कुसुमदेवी थापाले पनि खर्च विवरण बुझाइसक्नुभएको छ ।
रुकुम पूर्व अधिकतम २७ लाख रुपैयाँ खर्च गर्न पाउने जिल्लामा परेको थियो । निर्वाचन आयोगले जिल्लाहरूलाई वर्गीकरण गर्दै अधिकतम २५ लाख देखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको थियो ।





-1759842583.jpg)