Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यालयलाई सिसिटिभी क्यामरा सहयोग

सल्यानको राष्ट्रिय माध्यमिक विद्यालय, दार्मा गाउँपालिका-१, लाई सिसी क्यामेरा प्राप्त भएको छ । प्रविधिमैत्री शैक्षिक वातावरण सुदृढ बनाउन महत्त्वपूर्ण कदम स्वरूप विद्यालय परिसरमा सिसिटिभी क्यामरा जडानका लागि सहयोग प्राप्त भएको हो । दार्मा-२, स्थायी घर भई हाल सूर्य ज्योति लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत रोकाय र सलिको इन्स्योरेन्स सल्यानमा कार्यरत राजेश कुमार घर्तीले संयुक्त रूपमा विद्यालयलाई सहयोग गर्नुभएको हो ।

विद्यालयमा जडान गरिएको सिसिटिभी क्यामराले विद्यार्थीहरूको सुरक्षा, अनुशासन तथा समग्र शैक्षिक वातावरण सुधारमा उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ । यस प्रविधिले विद्यालय परिसरभित्र हुने गतिविधिहरूको प्रभावकारी निगरानी गर्न सहयोग पुर्‍याउने छ भने शिक्षक, अभिभावक र विद्यार्थी सबैमा सुरक्षित र जिम्मेवार वातावरणको अनुभूति गराउने अपेक्षा गरिएको छ ।

यस अवसरमा आयोजित एक विशेष कार्यक्रममा सहयोगदाता भरत रोकायलाई विद्यालय परिवारका तर्फबाट सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र परियार र प्रधानाध्यापक दीपेन्द्र चन्दले उहाँलाई दोसल्ला ओढाएर तथा प्रशंसा पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष परियारले विद्यालयको विकासमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू अत्यन्त प्रेरणादायी भएको उल्लेख गर्नुभयो ।

सम्मान ग्रहणपछि भरत रोकायले मन्तव्य राख्दै आफूले जन्मभूमिको शैक्षिक विकासमा योगदान गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो । उहाँले भविष्यमा पनि शिक्षा क्षेत्रमा यस्तै सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सबैले सहयोगीहरूको कार्यप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता सकारात्मक कार्यहरूले समाजमा उदाहरणीय सन्देश दिने बताएका थिए ।

विद्यालयले सहयोगदाताहरू प्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको छ । यस किसिमको सहयोगले ग्रामीण क्षेत्रमा शिक्षा सुधार र प्रविधिको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास विद्यालयको छ । साथै, विद्यालयले आगामी दिनमा थप शैक्षिक सुधारका योजनाहरू अघि बढाउने लक्ष्य समेत लिएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update